वीरगञ्ज | सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या वृद्धि गर्न सञ्चालन गरेको दिवा खाजा कार्यक्रममा वीरगञ्ज महानगरपालिकाले विद्यार्थीको संख्याभन्दा बढी रकम निकासा गरेको छ।महालेखा परीक्षकको कार्यालयद्वारा जारी वार्षिक प्रतिवेदन ०७८ अनुसार महानगरले ०७६।७७ मा ९० वटा सामुदायिक विद्यालयमा दिवा खाजाका लागि ४ करोड ५३ लाख २३ हजार ५ सय ९४ रुपैयाँ विद्यालयमा पठाएको थियो।तर, विद्यालयमा पठाइएको रकम विद्यार्थी संख्याका आधारमा दोब्बर तेब्बरले बढी देखिएको महालेखाले जनाएको छ। विद्यार्थीको संख्या बढी देखाएर दिवा खाजा बापतको रकम निकासा गरिएपछि महालेखा सो बापतको सबै रकम बेरुजु शीर्षकमा राखेको छ।
तीमध्ये वास्तविकता पहिल्याई बढी विद्यार्थीको संख्या देखाएर भुक्तानी गरिएको बढी रकम विद्यालयबाट असुलउपर गर्न महालेखाले महानगरलाई निर्देशन दिएको छ।दिवा खाजाको रकम पठाइएको ९० वटा विद्यालयमध्ये सबैले हाजिरमा उपस्थित विद्यार्थीभन्दा दोब्बर, तेब्बर विद्यार्थीको भरपाई पेस गरेको महालेखाको भनाइ छ।महानगरले विद्यालयको ८ महिनामा १ सय ८० दिन नबढ्ने गरी दिवा खाजा लागू भएको मितिदेखिको हाजिरी र परीक्षामा सहभागी भएका विद्यार्थीको विवरण लिई खर्च यकिन गरी बाँकी रकम असुल गरि संघीय सरकारको सञ्चित कोषमा दाखिला गर्न महानगरलाई महालेखा परीक्षकको कार्यालयले निर्देशनसमेत दिएको छ।
| कोरोना महामारीका बेला बन्द रहेका विद्यालयमा दिवा खाजाका लागि ठोरी र कालिकामाई गाउँपालिकाले रकम निकासा गरेको छ। ठोरी गाउँपालिकाले १८ वटा सामुदायिक विद्यालयलाई १८ लाख ५३ हजार ६ सय ८५ रुपैयाँ दिवा खाजबापत रकम उपलब्ध गराएको जनाएको छ।विद्यालय सञ्चालनको वार्षिक कार्यक्रम पुस्तिकाअनुसार विद्यार्थी संख्याका आधारमा प्रतिविद्यार्थी १५ रुपैयाँका दरले दिवा खाजा अनुदानका रूपमा दिने व्यवस्था छ।कोभिड १९ का कारण विद्यालय ०७६ चैत १२ देखि पूर्णरूपमा बन्द रहेकाले रकम पठाइए पनि दिवा खाजा कार्यक्रम सञ्चालन नभएको महालेखा परीक्षकको कार्यालयले जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
दिवा खाजा कार्यक्रम सञ्चालन नै नभएकाले विद्यालयमा पठाइएको उक्त रकम असुलउपर गर्न गाउँपालिकालाई महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ।यसैगरी, कालिकामाई गाउँपालिकाले पनि विद्यालय बन्द भएका बेला पनि दिवा खाजा बापतको रकम गाउँपालिकामा रहेका १० वटा सामुदायिक विद्यालयमा पठाएको पाइएको छ।गाउँपालिकाले विद्यालय बन्द रहेका बेला पनि १२ लाख ७९ हजार २ सय ५० रुपैयाँ दिवा खाजाबापतको रकम विद्यालयलाई भुक्तानी दिएको हो। उक्त रकम गाउँपालिकाले ०७६ साल फागुन २० गते विद्यालयमा पठाएको थियो।
तर, कोभिड १९ का कारण चैत ११ गतेदेखि विद्यालय पूर्णरूपमा बन्द भएका थिए। विद्यालय बन्द भएका बेला दिवा खाजा कार्यक्रम सञ्चालन नभएकाले उक्त रकम सम्बन्धित विद्यालयबाट असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले कालिकामाई गाउँपालिकालाई ताकेता गरेको छ। असुलउपर गर्नुपर्ने विषयमा कार्यविधिले तोकेअनुसार काम गर्ने कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहले जानकारी दिए।