वीरगन्ज | यूरोपेली आयोगले सबै स्मार्टफोनको चार्जर युएसबी टाइप सी हुनुपर्ने प्रस्ताव गरेको छ । यूरोपेली युनियनको यूरोपेली आयोगले स्मार्टफोन र अन्य इलेक्ट्रोनिक्स उत्पादकहरुमा युएसबी टाइप सी चार्जर अनिवार्य गर्ने प्रस्ताव गरेको हो । फोनको अतिरिक्त यो नियम अन्य उपकरणहरु जस्तै ट्याब्लेट, हेडफोन, पोर्टेबल स्पिकर, भिडियो गेम कन्सोल, र क्यामराहरुमा लागू हुने जनाइएको छ ।
आयोगको यो प्रस्तावले सबैभन्दा ठूलो असर एप्पललाई पर्नेछ । किनभने एप्पलले आफ्ना डिभाइसमा आफ्नो स्वामित्वमा रहेको लाइटनिङ्ग कनेक्टरको प्रयोग गर्दै आएको छ । यो प्रस्ताव पारित भएमा एप्पलले पनि अब आफ्ना डिभाइसमा टाइप सी चार्जर प्रयोग गर्नुपर्ने हुन्छ । तर एप्पलले भने उक्त नियमको आलोचना गरेको छ । कम्पनीले त्यस्तो निर्णय भए दशौँ लाख उपकरण बेकामे हुने र थप इलेक्ट्रोनिक फोहोर निर्माण हुने चेतावनी दिएको छ ।
उक्त नियममाथि पहिले युरोपेली संसद तथा राष्ट्रिय सरकारहरूमा छलफल हुनेछ । सन् २०२२ मै यो प्रक्रिया सकिने आयोगको आशा छ । त्यसपछि ती नियमलाई देशका राष्ट्रिय कानुनहरूमा समाहित गर्न थप २ वर्षको समय उपलब्ध हुनेछ |