वीरगन्ज | सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाख मात्रा खोपमध्ये १० लाख मात्रा आठ महिनादेखि आउन सकेको छैन । सरकारले गत माघमा २० लाख मात्रा खोप खरिदका लागि ९३ करोड रुपैयाँ भुक्तानी गरेको थियो । सेरमले गत फागुन ९ गते १० लाख डोज खोप मात्र पठाएको थियो । पहिलो चरणको खोप आएको एक साताभित्रै दोस्रो चरणको खोप पठाउने भने पनि सेरमले अहिलेसम्म खोप पठाएको छैन । स्वास्थ्य मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिदका लागि गत फागुन ५ गते अग्रिम भुक्तानी गरेको थियो ।
भारतले कार्तिकसम्म अन्य देशलाई कोरोनाभाइरसविरूद्धको खोप दिने बताएको छ । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मान्दभियाले सोमबार अक्टोवरदेखि विदेशमा खोप पठाउन सुरू गरिने प्रतिक्रिया दिएका छन् । सेरम इन्स्टिच्युट अफ इन्डियाले अष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयल बनाएको कोरोनाविरूद्धको खोप भारतमै उत्पादन गर्दै आएको छ । भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि खोप निर्यातमा प्रतिबन्ध लगाइएको थियो।
भारतले संसारका ७० भन्दा बढी मुलुकमा ६ करोड ६० लाख डोज खोप पठाइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५५ लाख बढि नागरीकले पूर्ण खोप लगाइसकेका छन् ।