जनकपुर । धनुषाका एक जनप्रतिनिधिलाई बाटोमा घेरा हालेर कुटपिट गरिएको छ । बिहीबार आफ्नो गाउँ धनौजीबाट जनकपुर आउने क्रममा धनौजी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य रहेका नेकपा एकीकृत समाजवादीका स्थानीय नेता रामकुमार महतोलाई बाटोमै घेरा हालेर कुटपिट गरिएको हो ।
महतो एकीकृत समाजवादीको क्षेत्र नम्बर ३ को क्षेत्रीय भेलामा सहभागी हुन जनकपुरधाम आउने क्रममा बाटोमा सोही वडाका कार्यालय सहयोगी राम पुजन मुखिया र वडाध्यक्ष रामदुलार मण्डलका भतिजा प्रदीप मण्डलले घेरा हालेर कुटपिट गरेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले बताए ।
उनले धनौजी गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष रामदुलार मण्डलको निर्देशनमा योजनाबद्ध ढंगले महतोलाई लछारपछार गरी कुटपिट गर्दा लुगाफाटा समेत च्यात्तिएको बताए । साहले तत्काल उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।
यता, पीडित वडा सदस्य महतोले घटनाबारे प्रहरीलाई समेत जानकारी गराइसकेको बताइएको छ । उनले सोही झोंकमा आफूमाथि वडाध्यक्ष मण्डलले कुटपिट गर्न लगाएको आरोपसमेत लगाए ।