लखनउ । भारतको लखनउमा हिन्दू समाज पार्टीका नेताको हत्या भएको छ । हिन्दू महासभाका पूर्व सदस्यसमेत रहेका पार्टीका नेता कमलेश तिवारीको अज्ञात समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।
उनी उत्तर प्रदेशको लखनउस्थित नाका क्षेत्रमा मृत फेला परेका हुन् । घटनास्थलबाट एक रिभल्भरसमेत बरामद गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनलाई गोली हानी हत्या गरिएको जनाइएको छ ।
चिकित्सकले भने उनको घाँटीमा धारिलो हतियार प्रहार भएको बताएका छन् । घाइते भएका तिवारीले उपचारका क्रममा ज्यान गुमाएका थिए ।
प्रहरीका अनुसार उनलाई केही उपहार दिन नचिनेका व्यक्तिहरु उनको कार्यालयमा प्रवेश गरेका थिए । उनको कार्यालयमा प्रवेश गर्नेबित्तिकै उनीहरु गोली चलाएर फरार भएका थिए ।
उनले केही समयअघि प्रोफेट मोहमम्दका विषयमा विवादित अभिव्यक्ति दिएको भन्दै निकै आलोचना भएको थियो । उनले मुस्लिम धर्मगुरु मोहम्मद विश्वकै पहिलो समलिंगी भएको बताएका थिए ।