महोत्तरी | रेल स्टेशन निर्माणका लागी रेल्वेमा परेको जग्गाको मुआब्जा कम भएका कारण बढाउन माग गर्दै स्थानीयहरुले एकीकृत सेवा केन्द्र बर्दिवासमा धर्ना दिएका छन् ।मुआब्जा निर्धारण समितिले निर्धारण गरेको मुआब्जा उचित नभएको भन्दै स्थानीयहरुले उक्त मुआब्जा खारेज गरी नयाँ दररेट कायम गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।सात वर्ष देखि रेल विभागले रोक्का गरेको जग्गाको मुआब्जा बजार र चलनचल्तीको भाउ अनुसार नभएको भन्दै मुआब्जा बढाउन दबाब स्वरुप धर्ना दिइएको मुआब्जा पीडित संघर्ष समितिका प्रमुख राजु खड्काले जानकारी दिए ।
रोक्का गरिएको जग्गालाई ३२ भागमा विभाजन गरिएको प्रति पनि समितिको असन्तुष्टि रहेकाले ३२ भागमा बाँडेको जग्गालाई ३ भागमा बाँडेर कम्तिमा २० लाखदेखि बढीमा १ करोड २० लाखसम्म मुआब्जा वितरण हुनुपर्ने पीडितहरुको माग रहेको खड्काले बताए ।
भदौ २ गते मुआब्जा निर्धारण समितिले जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग र पूर्वपश्चिम रेलमार्गको समेत साझा स्टेसन रहने बर्दिवास क्षेत्रको ५९ विघा जग्गाको मुआब्जा दररेट टुंगो लगाएको थियो । पूर्वमा रातु खोलादेखि पश्चिममा भप्सीखोलासम्मको जग्गालाई न्यूनतम ७ लाख कट्टादेखि अधिकतम ८१ लाखसम्म दिने निर्धारण समितिको निर्णय छ ।त्यसबापत २ अर्ब ३० करोड रकम सरकारले जग्गाधनीलाई वितरण गर्नेछ । जग्गाधनी भने निर्धारित मुआब्जामै जग्गा दिन नसकिने बताउँदै आन्दोलन गर्दै आएका छन् ।
आफूहरुको माग सुनुवाई नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी संर्घष समितिले दिएको छ । यता मुआब्जा निर्धारण समितिले भने मुआब्जा वितरणको प्रक्रिया अघि बढिसकेको जनाएको छ । गृह सचिवसमक्ष उजुरी परेमा र पुनर्विचार गर्नु भन्ने निर्देशन आएमा बाहेक भएकै निर्णय कार्यान्वयन भएर रेल्वेको काम अघि बढ्ने मुआब्जा निर्धारण समितिका संयोजक तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।