आफ्नै पार्टीका नेता–कार्यकर्ताबाट खतरा भयोः प्रचण्ड
वीरगंज संजाल
३० आश्विन २०७६, बिहीबार १५:५२
४१२७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता कार्यकर्ताबाट पार्टीमा खतरा बढेको बताएका छन् । नेकपा चितवनले आज भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले पछिल्लो समय आफ्नै पार्टीमा अराजकता र प्रतिगामी तत्व हाबी भएको भन्दै चिन्ता व्यक्त गरे । यस्तै अराजक र प्रतिक्रियावादी तत्व बढे पार्टी पतन हुने टिप्पणी उनले गरे ।
“कम्युनिष्ट पार्टीलाई अरु कसैले हल्लाउन सक्दैन । आफ्नै पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुककै खतरा छ,” उनले भने । कम्युनिष्ट आदर्शबाट विस्तारै स्खलित हुंँदै गएको भन्दै उनले ७० वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु पार्टीकै जिम्मेवारी र दायित्व भएको बताए । आफू संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै उनले त्यसको रक्षा र संरक्षणमा गम्भिर बन्नुपर्ने धारणा राखे ।
पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हँुदै गएको भन्दै उनले भने, “पार्टीको अनुशासन नमान्ने तर गुटको अनुशासन मान्ने गरेका कारण पार्टीमा खतरा बढेको छ ।” कार्यक्रममा उनले पार्टीका नेता कार्यकर्ताले समीक्षा, आत्मआलोचना गर्नुपर्ने विषयमा समय खर्चिएका थिए । परिवर्तन र समाजवादको महायात्रामा कहीं कतैबाट अप्ठेरो हुन्छ भने त्यो आफैंबाट हुने दाहालको भनाइ थियो ।
सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले देशलाई समाजवादतिर जान रोक्न अराजक तत्व लागिरहेको बताए । कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपाका प्रदेश नम्बर ३ सहइन्चार्ज काशीनाथ अधिकारी, प्रदेश नम्बर ३ का अध्यक्ष नारायण दाहाल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।