हङकङ मामिलामा अमेरिका–चीन रस्साकस्सी, प्रतिरक्षात्मक कदम चाल्ने चीनको चेतावनी
वीरगंज संजाल
३० आश्विन २०७६, बिहीबार १४:३३
३९५७
बेइजिङ । चीनले आफ्नो विशेष प्रशासकीय क्षेत्र हङकङको कानुन कार्यान्वयन निकायका अधिकारीहरुलाई नाकाबन्दी लगाउने भनेर अमेरिकाले विधेयक पास गरेको बारेमा आफूले प्रभावकारी प्रतिरक्षात्मक कदम चाल्ने चेतावनी दिएको छ ।
अमेरिकी संसदले मंगलबार ‘हङकङ हुमन राइट्स एण्ड डेमोक्रेसी एक्ट २०१९’ ल्याएको घोषणा गरेको थियो । चीनका अधिकारीहरुले यसलाई निन्दा गरे पनि अमेरिकी संसदले त्यसलाई पारित गरेको हो । अमेरिकाको यो कार्यलाई हङकङका कानुन व्यवसायी, चीनको मुख्य भूभागका विद्वान लगायतले पनि आलोचना गरेका थिए ।
कतिपय चिनियाँ विज्ञले अमेरिकाको विरुद्धमा पनि यसै खालको केही व्यवस्था गर्न सुझाव दिएका थिए । उनीहरुले यदि यो विधेयक कानुन बनेमा अमेरिकी अधिकारीहरुलाई हङकङमा जान पनि रोक लगाउनुपर्ने जनाएका छन् । नेशनल पिपुल्स कंग्रेस फरेन अफेयर्स कमिटीले अमेरिकी योजनाको कडाईका साथ निन्दा गरेको छ ।
हङकङका कार्यकारी प्रमुख केरी लेमले बुधबार पत्रकार सम्मेलन गर्दै अरुले आफूहरुलाई मानवअधिकार, लोकतन्त्र र स्वतन्त्रताको बारेमा भन्न आबश्यक नरहेको जनाएकी थिइन् ।