बिरगंज ।आइतबार तालिबान काबुल प्रवेश गरेसँगै अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे । उनी अहिले कहाँ छन् भन्ने प्रष्ट छैन । तर उनले अफगानिस्तान छाड्दा पैसाले भरिएको हेलिकप्टर र गाडी पनि साथमा लगेको दाबी गरिएको छ । यस्तो दाबी रुसी समाचार एजेन्सी रियाले गरेको हो ।रियाको दाबी रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । रियालसँग कुरा गर्दै काबुलस्थित रुसी राजदूतावासका प्रवक्ता निकिता इस्चेन्कोले अफगानी राष्ट्रपति घानीले आफूसँग पैसा बोकेको एक हेलिकप्टर र चार गाडीसँगै लगेको बताएका छन् ।
‘चार गाडीभरी पैसा थियो । बाँकी पैसा हेलिकप्टरमा राखियो । तर सबै पैसा हेलिकप्टरमा अटेन । त्यसकारण नअटेको पैसा अफगानिस्तानमै छाडियो । घानीले पैसा लिएर अफगानिस्तान छाडेको दृश्यले यस मुलुकमा कसरी सत्ता परिवर्तन भयो भन्ने बारेमा प्रष्ट पार्छ,’ इस्चेन्कोले रियासँग भनेका छन् ।रोयटर्सले इस्चेन्कोलाई सम्पर्क गर्दा उनले आफूले रियसँग घानीका विषयमा कुरा गरेको बताएका छन् । यद्यपि घानी पैसा सहित उडेको भने स्वयम आफूले नदेखेको बताएका छन् । उनले आफ्नो दाबीको स्रोत एक प्रत्यक्षदर्शी रहेको पनि बताएका छन् । रोयटर्सका अनुसार घानीमाथि लगाइएको आरोपको स्वतन्त्र पुष्टि भएको छैन ।
घानीको सरकार ढलेसँगै रुसले तालिबानसँग सम्बन्ध विस्तार गर्ने बताएको छ । यद्यपि तालिबान र उसले बनाउने सरकारलाई आफूले मान्यता दिन हतार नगर्ने रुसले स्पष्ट पारेको छ । तालिबानले कस्तो किसिमको व्यवहार देखाउँछ, त्यसको विश्लेषण गरेर मात्र निर्णय लिने रुसको भनाइ छ ।
उता अफगानिस्तानका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रतिनिधि जमिर काबुलोभले हालै ढलेको अफगानी सरकारले ढुकुटीमा कति पैसा छाडेको छ भन्ने बारेमा अहिले नै केही भन्न नसकिने बताएका छन् ।‘अफगानिस्तान छाडेका घानी र ढलेको उनको सरकारले ढुकुटीमा पैसा छाडेका छन् भन्ने अपेक्षा छ । आशा छ, उनीहरूले सबै लिएर गएका गएका छैनन्,’ काबुलोभले मस्कोको एखो मोस्कोभी रेडियोसँगको कुरा गर्दै भनेका छन् ।