वीरगञ्ज | नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ पार्टी दर्ताको प्रक्रियामा जाने भएका छन् । पछिल्लो समय नेकपा एमालेमा देखिएको विवाद समाधान हुन सक्ने सम्भावना कम भएको भन्दै उनले नयाँ पार्टी दर्ता गर्ने र आफ्नो नेतृत्वमा अगाडि बढ्ने तयारी गरेका हुन् ।
उनीनिकट एक नेताका अनुसार केही दिन यता यसको गृहकार्य सुरु भइसकेको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहमा नेपालले यस्तो तयारी गरेको ती नेताले दाबी गरे ।
अबको चुनावसँग गठबन्धन बनाएर अगाडि बढ्दा नयाँ पार्टीलाई पनि स्थापित गर्न सकिने र जनतामाझ जान पनि सहज हुने अनुमानका आधारमा नेपालले यस्तो तयारी गरेको ती नेताले बताए ।शनिबार एक कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले आफू एमालेमा अब अपहेलित भएर बस्न नसक्ने बताएका थिए ।