बीरगन्ज | आगामी आईतबारबाट बीरगन्जमा कक्षा ८ देखि १२ सम्मको पठनपाठन भौतिक रुपमा नै हुने भएको छ । बुधबार बीरगन्ज महानगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले कक्षा ८ देखि १२ सम्मको पठनपाठान साउन ३१ गते आईतबारदेखि भौतिक रुपमा नै गर्ने निर्णय गरेसँगै महानगरका सामुदायिक तथा संस्थागत विद्यालयहरु सन्चालनमा आउने भएका हुन् ।बैठकमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्न सबैजना सहमति भएपछि प्रथम चरणमा कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुचारु गर्ने निर्णय महानगरपालिकाले गरेको मेयर विजय कुमार सरावगीले जानकारी दिए । यसअघि पनि गत असार १ गतेबाट बीरगन्जका विद्यालयमा भौतिक रुपमै पठनपाठन सन्चालन गर्ने तयारी महानगरले गरे पनि जिल्ला संकट व्यावस्थापन केन्द्रले सहमति दिन नसक्दा विद्यालय संचालनमा आउन सकेका थिएनन् ।
बैठकमा सहभागी सबैले शिक्षाको अधिकार स्थानीय तहको सरकारलाई नै रहेको र कोरोना संक्रमणको जोखिम कायमै रहेपनि अहिले बीरगन्जको अवस्था सामान्य भएकोले स्वासथ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्नुपर्नेमा बैठकमा सहभागीको एकमत भएको मेयर सरवागीको दाबी छ । महानगरपालिकाले निर्णयमा बीरगन्जका सबै राजनीतिक दल, संस्थागत विद्यालयहरुको संगठन, सामुदायिक विद्यालयहरुको शिक्षक संघ संगठन लगायतका सरोकारवाला पक्षको ऐक्यबद्धता जाहेर गरेको मेयर सरावगीले बताए ।जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रलाई गृह मन्त्रालयको आदेश नभई शैक्षिक क्षेत्र खुला गर्न पाउने अधिकार नभएकोले विद्यालय खोल्ने निर्णयलाई पनि रोक लगाएको बताउदैं मेयर सरावगीले आपूmले गृहमन्त्री र सचिवसँग समेत भेटेर कुरा गरेपछि अहिले विद्यालय खोल्ने तयारीमा आपूm लागेको जानकारी दिए ।
बैठकमा मेयर सरावगी सहित, शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख अरुण कुमार महतो, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, नेकपा माओवादी केन्द्रका महानगर अध्यक्ष रहबर अन्सारी, प्याब्सन पर्साका सचिव छेडुप लामा, एन प्याब्सनका अध्यक्ष रामसुन्दर चौधरी, नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, महानगर अध्यक्ष विनोद मेहता, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, बीरगन्ज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरी लगायत विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, नागरिक समाज तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।