सर्लाही | ईश्वरपुर नगपालिका–१ चौलिखा बजारमा गएराति एक हार्डवेयर पसलमा आगलागी हुँदा ४० लाख बढीको क्षति भएको छ।स्थानीय सन्जय साह सुँडीले आफ्नै दुई तले घरमा संचालन गरेको हार्डवेयर पसलमा आगलागी भएको हो।
आगालागीमा परी करिब ४० रुपैयाँ बराबरको सामान नष्ट भएको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए।आगलागीमा धेरैजसो पेन्टिङका सामग्री जलेर नष्ट भएका पीडित साहले बताए। राति २ बजेतिर सुरु भएको आगलागी स्थानीय, सुरक्षाकर्मी र मलंगवाबाट आएको दमकलको सहयोगमा झण्डै डेढ घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्थानीयवासीले पसलमा आगलागी नभई कसैले आगजनी गरेको हुन सक्ने आशंका गरेका छन्। यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए।