वीरगन्ज । ताइवानको कम्प्युटर हार्डवेयर कम्पनी गिगाबाइटमाथि र्यानसमवेयर आक्रमण भएको छ । ह्याकरले कम्पनीको केही जानकारी सार्वजनिक गर्दै आफ्ना माग पुरा गर्न धम्कीपूर्ण म्यासेज पठाएको छ ।
जसमा ह्याकरले आफूसँग कम्पनीले १२० जीबी डेटा रहेको र माग पुरा नभएको खण्डमा उक्त जानकारी डार्क वेबमा सार्वजनिक गरिदिने उल्लेख छ ।
ताइवानको उक्त कम्पनी विशेषगरी उच्च क्षमताको मदरबोर्डका लागि परिचित छ । आक्रमणको विषयमा कम्पनीले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको हो ।
कम्पनीका प्रवक्ताका अनुसार उक्त आक्रमणले कम्पनीको उत्पादन सिस्टममा भने कुनै असर परेको छैन । कम्पनीको मुख्य कार्यालयमा रहेका केही सर्भरमा आक्रमणको असर परेको उल्लेख गरिएको छ ।
असर परेका सर्भर डाउन गरी राखिएको समेत उल्लेख गरिएको छ । कम्पनीले हाल उक्त आक्रमण कसरी भयो भन्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ । यो विषयमा स्थानीय निकायलाई समेत जानकारी दिइसकेको जनाइएको छ ।
ह्याकरले फिरौतीका लागि कति रकम अथवा के माग राखेका छन भन्ने विषयमा भने हालसम्म जानकारी दिइएको छैन ।