काठमाडौं । सरकारले नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप गरेको छ ।
मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो । दरबन्दी स्वीकृतिसँगै कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकिएको मन्त्रालयले जनाएको छ ।
थप गरिएका दरबन्दीमा ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), २१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ४७ छन् ।
यस्तै, प्रहरी नायब निरीक्षक (सई) ८६, प्रहरी सहायक निरीक्षक (असई) २९७, प्रहरी हवल्दार ६८३, प्रहरी जवान २ हजार २१६ र कार्यालय सहयागीतर्फ ३ हजार ५९६ दरबन्दी थप भएको छ ।
थपिएका दरबन्दी जनपद र प्राविधिक दुवै गरेर हो । प्राविधिकतर्फ १२९ जनाको दरबन्दी थपिएको छ । एसएसपी १, एसपी २, डीएसपी १२, इन्सपेक्टर २० लगायत गरी १२९ जनाको दरबन्दी थपिएको हो ।
हाल प्रहरीमा जनपद र प्राविधिक गरी ७५ हजार ९२७ को दरबन्दी छ । तीमध्ये करिब ४ हजारको अझै पदपूर्ति भएको छैन ।