वीरगन्ज ।भारतका असम र मिजोरम राज्यको सीमामा दङ्गा भड्किदा ६ प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा असम राज्यकातर्फका प्रहरी रहेका छन् । असमका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको बताएका छन् ।
यो विषयमा असमका मुख्यमन्त्री शर्मा र मिजोरमका मुख्यमन्त्री जोरामथंगाले पनि सामाजिक सञ्जालमा एक अर्कालाई चर्को आरोप लगाउँदै आएका थिए । यद्यपि पछि उनीहरुबीच वार्ता भएको कुरा बाहिर आएको थियो । ६ प्रहरी जवानको मृत्यु भएलगत्तै केन्द्र सरकारका गृहमन्त्री अमित शाहले दुबै राज्यका मुख्यमन्त्रीलाई त्यहाँ शान्ति स्थापना भएको कुरा सुनिश्चित गर्न आग्रह गरेका छन् । मुख्यमन्त्रीद्धय शर्मा र जोरामथंगाले झडप भएको सीमा क्षेत्रमा केन्द्र सरकारले नै हस्तक्षेप गर्नुपर्ने राय प्रकट गरेका थिए ।
मिजोरम राज्यको उसका दुई छिमेकी राज्य असम र त्रिपुरासँग लामो समयदेखि सीमा विवाद छ । गत वर्ष पनि यो क्षेत्रमा तनावको स्थिति सृजना भएको थियो । त्यसबेला केन्द्र सरकारले हस्तक्षेप गरेको थियो । असममा शर्मा मुख्यमन्त्री बनेपछि परिस्थिति फेरि बदलिएको छ । पछिल्ला दिन तनाव बढ्दै गएको छ । दुई राज्य बीचको सीमा विवाद अझै टुंगिन सकेको छैन ।