वीरगन्ज । भीषण वर्षासँगै आएको बाढी तथा डुबानका कारण भारतको गोवा र महाराष्ट्रमा जनजीवन प्रभावित छ।
गोवा र महाराष्ट्रका बाढी प्रभावित क्षेत्रका ९० हजार भन्दा बढि मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बाढीका कारण महाराष्ट्रमा कम्तीमा १३६ जनाको ज्यान गएको छ। गोवामा सयौँ घरमा क्षति पुगेको छ। उद्धार तथा खोजीमा स्थानीय बासिन्दा पनि परिचालित भएका छन्।
बाढी आउनुका विभिन्न कारण रहे पनि विश्वव्यापी तापमान वृद्धिका कारण भएको जलवायु परिवर्तनले भारी वर्षा एक प्रमुख कारक रहेको हुन सक्ने विज्ञले बताउँदै आएका छन्।
केही स्थानमा अझैसम्म उद्धारकर्मी पुग्न सकेका छैनन्। पहिरोका कारण बाटो अवरुद्ध हुँदा समस्या भएको हो।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले अहिलेको बाढी पछिल्लो केही दशक यताकै भयानक रहेको बताएका छन् ।