बीरगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत माग्दा पहिलो, दास्रो र तेस्रो प्राथमिकता नै खोप भएको र साउन ४ गते जोन्सन खोपको शुभारम्भमा खोप केन्द्रहरूको अनुगमनलाई लिएर पूर्वप्रधानमन्त्री ओलीले चर्काे शब्दमा विरोध तथा हँसीमजाक गरेका थिए । किनभने, उनको ठम्याई सबैलाई पुग्नेगरी खोपको व्यवस्था आफूले जाँदाजाँदै गरिसकेको भन्नेछ ।
त्यसो त पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बिदाई मन्तव्यमा असार २९ गते नेपालले थप १ करोड ५० लाख डोज खोप सहुलियत दरमा खरिद सम्झौता गरेको बताएका थिए । जोन्सन एन्ड जोन्सनबाट ६० लाख, मोर्डनाबाट ४० लाख, फाइजरबाट ४० लाख र एस्ट्राजेनिकाबाट २० लाख मात्रा गरी कुल १ करोड ५० लाख मात्रा खोपको खरिद सम्झौता भएको बताए । त्यस्तै, जापानबाट कोभ्याक्समार्फत १६ लाख एस्ट्राजेनिका, कोभ्याक्स सुविधामार्फत ३ लाख ५० हजार आउन थालेको बताएका थिए । बालबालिकालाई लगाउन मिल्ने थप ६० लाख डोज फाइजरको खोप पनि खरिद प्रक्रियामा रहेको, चीनबाट अनुदान १८ लाख र खरिद ४० मध्ये ८ लाख तथा भारतबाट अनुदान ११ लाख र खरिद १० लाख आइसकेको र लगाइसकेको छ ।
खोप जुटाउन क्लिनिकल ट्रायल
तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न दिएरै भए पनि खोप प्राप्त गर्ने योजनामा सरकार जुटेको छ । जसका लागि सरकारले कानुनी आधार पूरा गरेको छ । गत सरकारको मन्त्रिपरिषद्ले जारी गरेको खोपको क्लिनिकल ट्रायलसम्बन्धी प्रक्रियामा ट्रायल गर्न दिएबापत प्राथमिकताका साथ खोप दिनुपर्ने सर्त छ । पहिलो र दोस्रो चरण सफल भएका खोपलाई मात्रै अनुमति दिनेगरी कार्यविधि पारित छ । क्लिनिकल ट्रायलका लागि एनएचआरसीमा निवेदन दिन पर्ने, उपयुक्त भए स्वास्थ्य मन्त्रालयमा पेस गर्ने र मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्ने प्रावधान छ ।
सरकारबाट अनुमति पाएपछि ट्रायल खोपलाई औषधि व्यवस्था विभागले अन्तिम स्वीकृत दिनुपर्छ । यसअघि अस्ट्रेलियालगायतका खोपले शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा ट्रायल गर्ने तयारी गरे पनि एनएचआरसीले इथिकल स्वीकृति दिए पनि खोपले अनुमति पाएन । किनभने भारतबाट खोप नै आउन थाल्यो । त्यसो त खोप ऐनलाई अध्यादेशमार्फत संसोधन गरेर ट्रायल गर्न दिन सक्ने बनाइएको छ । पछिल्लो समय खोप किन्न पनि नपाएपछि यसो गर्न थालिएको थियो ।
संक्रमणबाट बच्ने आजसम्मको उत्तम विकल्प भनेकै खोप, सामाजिक दूरी, उचित मास्क, सेनिटाइजरको प्रयोग र साबुनपानीले हातधुनुका साथै आफूलाई स्वस्थ राख्न प्रयास गर्नु हो
निषेधाज्ञा र लकडाउनलाई कोरोना नियन्त्रणको विकल्प बनाउनेभन्दा पनि खोप वितरणमा सरकार सचेत बन्न जरुरी छ
खोपलगाएका सबैजसोमा एन्टिबडी तयार
खोप जीवन रक्षक साबित भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा एन्टिबडी तयार भएको र त्यसले कोरोना भाइरसविरुद्ध लड्न बल पु-याएको छ । खोप लगाएका करिब ७० जना आफ्नै कर्मचारीको एन्टिबडी परीक्षण गरेको थियो । तथापि पुनः परीक्षण ६ महिनामा गर्न लागिएको भए पनि एन्टिबडी कहिलेसम्म रहने भन्नेबारे अध्ययन बा“की नै छ । संक्रमण भइसकेकामा पहिलो डोजले नै राम्रोस्तरमा एन्टिबडी बनेको थियो भने पहिले संक्रमण नभएकामा दोस्रो मात्रा लगाएपछि मात्रै एन्टिबडी राम्रो बनेको पाइएको छ । दोस्रो मात्रा लगाएको दुई हप्तापछि मात्र पूर्ण सुरक्षा प्रदान हुने गर्छ ।
जोन्सन खोप
२०२० फेब्रुवरीमा अमेरिकाको एफडीएले विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोग अनुमति दिएको १८ वर्षमाथिका सबैलाई दिन सकिने एक मात्रा मात्र लगाए पुग्ने जोन्सन खोप अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा नेपालले पाएको हो । ०.५ एमएलको डेल्ट्वाइड मसलमा आईएम, ५ मात्रा भएको भायलमा आउँछ । विश्व स्वास्थ्य संगठनको नीतिमा भायल खोलेपछि अर्थात् एक मात्रा तानेपछि भायललाई २ देखि ८ डिग्री सेल्सियसमा ६ घण्टा मात्र राख्न सकिन्छ वा ६ घण्टापछि उपयोग गर्न मिल्दैन । खोप माइनस २० डिग्रीमा २ वर्षसम्म तथा २ देखि ८ डिग्रीसम्म बढीमा ३ महिनासम्म राख्न सकिन्छ । तर, खोप २ देखि ८ मा राखेर वितरण गरिएपछि पुनः निम्न तापक्रममा राख्न मिल्दैन । गम्भीर र अस्पताल भर्ना भएका बिरामीमा ८५.४ प्रतिशत तथा खोप लगाएको २८ दिनपछि मध्यम र गम्भीर संक्रमणविरुद्ध ६६.९ प्रतिशत प्रभावकारी देखिएको छ ।
नसासम्बन्धी दुर्लभ समस्या हुन सक्ने
जोन्सन खोपका कारण नसासम्बन्धी दुर्लभ समस्या गिलानबारे सिन्ड्रोम हुन सक्ने सम्भावना रहेको खोपको लेबलमा एफडीएले राख्न लगाएको छ । तथापि खोपकै कारणले रोग लागेको हो भनेर किटान गर्न अवस्था नरहेको देखाएको छ । सीडीसीले अमेरिकामा खोप पाएका १ करोड २७ लाख नागरिकमध्ये १०० जनामा यो रोगको समस्या देखिएको बताएको छ । जसमा ९५ जनालाई अस्पताल भर्ना र एक जनाको मृत्यृ भएको थियो । सीडीसीले खोप लगाएको दुई सातापछि समस्या देखिएको बताउँदै धेरै जसो ५० वर्षमाथिका पुरुष रहेको बताएको छ । तथापि रोगको तुलनामा खोपको नकारात्मक असर धेरै कम छ । त्यसै पनि हरेक वर्ष अमेरिकामा ३ हजार देखि ६ हजार व्यक्तिमा देखिने गरेको छ ।
गिलानबारे सिन्ड्रोम
शरीरको रोग प्रतिरोधी क्षमताले नसाका कोषहरूलाई आक्रमण गर्ने एक नसासम्बन्धी समस्या हो । यसले मांशपेसी कमजोर बनाउनुका साथै कहिलेकाहीँ पक्षघातसमेत गराउन सक्छ । लक्षण प्रायःजसोमा खोप लगाएको ४२ दिनमा देखिएको छ । सिन्ड्रोमका प्रमुख लक्षणमा हात र खुट्टामा कमजोरी तथा झमझम महसुस हुने, बढेर शरीरका अरू अंगमा पनि फैलन सक्ने, हिँडाइमा कमजोरी, बोल्दा, चपाउँदा वा निल्दा गाह्रो अनुभव, एउटा वस्तुलाई दुईवटा देख्ने, आँखा चलाउन गाह्रो हुने, मूत्राशयमा समस्या तथा दिसा गर्न गाह्रो हुने आदि पर्छन् ।
तथ्यांकमा फरक
उत्पादन भएको मध्ये ९० प्रतिशत खोप धनी र उच्च, मध्यम आय भएका देशमा गएको र खपत भएको, न्यून आय भएका देशमा ०.२ प्रतिशत मात्र गएको एडस हेल्थकेयर फाउन्डेसन—एएचपीले बताएको छ । विश्वमा रहेका साढे ७ अर्ब जनसंख्यालाई खोप दिनपर्नेछ । नेपालमा भित्रिएको कोभिसिल्ड खोपमा कुल प्राप्त र खोप लगाएकाको संख्याबीच ३ लाख मात्रा कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन । कुल प्राप्त २३ लाख ४८ हजार मा २२ लाख ८९ हजार २१८ अर्थात् पहिलो डोज १८ लाख २८ हजार ४ सय ८४ र दुवै डोज ४ लाख ६० हजार ७ सय ३४ ले लगाएका छन् । जसमा भारतीय सेनाले दिएको १ लाख र बहराइनका राजकुमारले ल्याएको २० हजार डोज समावेश छैन ।
त्यस्तै, १४ लाख २३ हजार ४ सय ४७ जनाले भेरोसेल ७९ प्रतिशतको पहिलो र ६ लाख ८२ हजार ३ सय ९२ ले दोस्रो मात्रा लगाएका छन् । तथापि देशभरका ५ हजार बढी खोप केन्द्र नै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा संक्रमणका स्रोत बनिरहेका, लक्षित समूूहले नपाउने तर, नेतालाई घरघरमै खोप पु¥याएको गुनासो यथावत् छ । खोपका लागि लक्षित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ नागरिक हुन् । त्यसैमा २८ प्रतिशत बालबालिका समावेश छैनन् । हालसम्म ४७ लाख बढीले एक र पूर्ण मात्रा लिइसकेका छन् । तसर्थ, खोपको उपलब्धता राजनीतिक मुद्दा र मतदाता आकर्षण गर्ने वस्तु बनेको छ ।
अन्तमा, विगत २ वर्षदेखि भोगिँदै आएको महामारीले स्वास्थ्य मापदण्डका विषयमा आजसम्म सबै नागरिकलाई राम्रो ज्ञान दिएको छ, बुझेर पनि नअपनाउनु फरक कुरा हो । लकडाउन खुल्नासाथै संक्रमणदर बढेको दुःखद छ । संक्रमणबाट बच्ने आजसम्मको उत्तम विकल्प भनेकै खोप, सामाजिक दूरी, उचित मास्क, पटकपटक सेनिटाइजरको प्रयोग र साबुनपानीले हातधुनुका साथै आफूलाई स्वस्थ राख्न प्रयास गर्नु हो । तसर्थ, अब निषेधाज्ञा र लकडाउनलाई कोरोना नियन्त्रणको विकल्प बनाउनेभन्दा सबैलाई मापदण्ड अपनाउन र खोप दिन सरकार गम्भीर रूपमा लाग्ने र नागरिक आफंै पनि सचेत बन्नैपर्छ ।
(रोटरी क्लब अफ महाराजगन्ज, काठमाडाैँका अध्यक्ष डा. बुढाथोकी नेपाल चिकित्सक संघका कोषाध्यक्ष हुन् ।)