पोखरा । जनयुद्धका योद्धा रामजीप्रसाद बराल ‘जीवन’ले यतिखेर गण्डकी प्रदेशमा महत्वपूर्ण मन्त्रालयको जिम्मा पाएका छन् । बराल शुक्रबार प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।पोखरा २२, पुम्दीभुम्दीमा २०२३ साउन २३ मा जन्मिएका उनी प्रवेशिका परीक्षा उत्तीर्णसँगै राजनीतिमा सक्रिय भए । २०४२ सालमा तत्कालीन मोटो मसालको विद्यार्थी संगठनमा आवद्ध भई स्थानीय शुक्रराज मावि इकाई कमिटी अध्यक्ष हुँदै कम्युनिस्ट राजनीतिमा सक्रिय हँुदै आएका उनी प्रदेशसभा चुनावमा निर्वाचित भएका थिए ।सबैखाले विभेदविरुद्ध खरो विरोध गर्ने स्वभावका उनी शहीद, उनका परिवार र वेपत्ताको विषयमा सधैं चिन्ता लिन्छन् । स्थानीय महेश्वरी प्राविबाट अध्ययन प्रारम्भ गरेका बरालले २०४३ सालमा शुक्रराज माविबाट प्रवेशिका उत्तीर्ण गरेका थिए । उनी भन्छन्, ‘आज मेरो यो यात्रासम्म आउनुमा पार्टीको देन हो । पार्टी भनेरै म घरपरिवारसमेत छाडेर परिवर्तनका लागि जनयुद्धमा होमिएको थिएँ ।’
२०४७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०४८ सालमा संयुक्त जनमोर्चा नेपाल गाउँ इकाई अध्यक्ष र २०४९ मा जिल्ला सदस्य बने । २०५१ सालमा पार्टीको राष्ट्रिय भेलाले जनयुद्ध सुरु गर्ने र जनमुक्ति सेना निर्माण गर्ने निर्णयले उनलाई असाध्यै खुसी बनायो । उनले भने, ‘जनयुद्ध सुरु भएको र तयारी हुन अनुरोध गरिएको चिठी पढेपछि ममा खुसीको कुनै सिमै रहेन, त्यसपछि मात्रै पार्टीप्रति विश्वास लाग्यो र मैले मुक्तिको सपना देख्न थालें ।’
उनी २०५३ देखि पार्टीको पूर्णकालीन कार्यकर्ता बने । त्यसपछि तत्कालीन नेकपा (माओवादी) इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्य बने । कास्कीमा पार्टीलाई सक्रिय बनाउनुमा उनको महŒवपूर्ण योगदान छ । उनले माओवादी आन्दोलन उचाइमा पु-याउन आफ्नोतर्फबाट कुनै कसर बाँकी राखेनन् । २०५७ सालमा पर्वत सेक्रेटरी हुँदै २ वर्षपछि सेक्रेटरीसहित इन्चार्ज जिम्मेवारी लिएर गृहजिल्ला फर्किए । तत्कालीन एकीकृत माओवादीमा पोलिटब्यूरो सदस्यसमेत बनेका उनी दोस्रो संविधानसभा निर्वाचनमा उमेदवार थिए । २०७४ सालको प्रदेशसभा चुनावमा भने उनी कास्की ३ (क) बाट निर्वाचित हुन सके । बराल हाल माओवादी केन्द्र संसदीय दल उपनेता र सार्वजनिक लेखा समिति सदस्यको जिम्मेवारीमा छन् ।कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी सरकारमा शुक्रबार ११ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । त्यसमध्ये कांग्रेस ५, माओवादी ४, जसपा र स्वतन्त्रले १÷१ मन्त्रालय लिएका छन् । कास्कीले बरालसहित यसपालि ३ मन्त्री पाएको छ । जसमा भौतिक पूर्वाधारमन्त्री कुमार खड्का र सञ्चारमन्त्री बिन्दुकुमार थापा छन् ।