चिनियाँ राष्ट्रपतिको सुरक्षा कार्ययोजनाले विश्वस्तरमै नेपालको सकारात्मक सन्देशः गृहमन्त्री
वीरगंज संजाल
२७ आश्विन २०७६, सोमबार १५:०७
२३४५
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चिनियाँ राष्ट्रपति सी चिनफिङको भमणका क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन् ।
गृह मन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताए । गृहमन्त्री थापाले सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निभाएको भन्दै नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको टिप्पणी गरे ।
चिनियाँ पक्षले समेत भ्रमणका क्रममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको गृहमन्त्री थापाले बैठकमा जानकारी गराए । गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको दोहोर्याउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिए ।
बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की, नेपाली सेनाका उपरथि शशिचन्द्र बहादुर सिंह लगायत सहभागी थिए ।