वीरगन्ज । नि:शुल्क छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई वीरगन्जस्थित नेसनल मेडिकल कलेजले परीक्षा आवेदन फाराम भर्न रोकेको छ । सरकारी छात्रवृत्तिमा अध्ययनरत रामजी राम र पंकज रामलाई अतिरिक्त शुल्क नबुझाएको भन्दै परीक्षा फाराम भर्न नदिइएको हो ।
पाँचौं वर्षको परीक्षा फाराम बुझाउने मंगलबार अन्तिम दिन थियो । विभिन्न शीर्षकमा शुल्क माग्दै कलेजले फाराम नलिएको रामजीले बताए । कलेजले उनलाई सोमबारसम्ममा ८ लाख ७३ हजार अतिरिक्त शुल्क बुझाउन भनेको थियो । मंगलबार परीक्षा, रजिस्ट्रेसनलगायत शुल्कबापत १ लाख ७३ हजार मागिएको उनले बताए । भर्ना, ल्याब, लाइबेरी, वार्षिक शुल्क मिनाहा गरेर कलेजले अन्य शुल्क मागेको हो । ‘म होस्टल नै बसेको छैन, इन्टरनेट पनि चलाएको छैन तर शुल्क मागिएको छ,’ उनले भने, ‘इन्टरनेट नै जडान नगरेका पंकजसँग ७२ हजार रुपैयाँ मागिएको छ ।’
मेडिकल कलेजहरूले विद्यार्थीलाई अनिवार्य होस्टलमा राख्ने र इन्टरनेट, खाना, खाजालगायतमा चर्को शुल्क असुल्ने गरेका छन् । ‘कलेजले मागेजति शुल्क लिएर भोलि (बुधबार) १० बजेसम्म फाराम भर्न आउनू भनेको छ,’ उनले भने, ‘फाराम भर्ने म्याद सकिए पनि काठमाडौं पठाउन बाँकी रहेको भनिएको छ ।’ उनीहरूलाई यसअघि पनि कलेजले अतिरिक्त शुल्क माग्दै परीक्षाबाट वञ्चित गर्ने प्रयास गरेको थियो ।
परीक्षा फाराम भर्न रोकेपछि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम र चिकित्सा शिक्षा आयोगले नेसनल मेडिकल कलेजसँग स्पष्टीकरण मागेको छ । स्पष्टीकरणमा आलटाल जवाफ दिएर कलेजले बढी शुल्क माग गर्दै विद्यार्थीलाई अप्ठ्यारोमा पारेको एक प्राध्यापकले बताए । सरकारले नलिन भनेको शुल्क पनि कलेजले उठाइराखेको विद्यार्थीले गुनासो गरे । कलेजका निर्देशक अबिद हुसेन अन्सारीले बढी शुल्क माग्दै विद्यार्थीसँग मोलमोलाई गर्ने गरेको उनीहरूले बताए ।
चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डिल्ली लुइँटेलले विश्वविद्यालय, डिन कार्यालय र सम्बन्धित कलेजलाई विद्यार्थीको आवेदन फाराम भराएर परीक्षा लिने वातावरण बनाउन निर्देशन दिएको जानकारी दिए । ‘कलेजले परीक्षा आवेदन भराउने कार्य भइरहेको जानकारी दिएको छ,’ उनले भने, ‘परीक्षाबाट वञ्चित गराउन मिल्दैन ।’ आयोगमा उजुरी परेपछि कार्यकारी समितिले तोकेको भन्दा बढी शुल्क नलिन र छात्रवृत्तिमा पढेकाबाट शुल्क नउठाउन निर्देशन दिएको उनले जनाए । आईओएमका डिन दिव्यासिंह शाहसँग थप कुराकानी गरेर विद्यार्थीलाई परीक्षामा सामेल हुने वातावरण मिलाउने आयोगले जनाएको छ ।
निर्देशक अन्सारीले भने यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । शुल्कबारे सञ्चालक बसरुद्दिन अन्सारीलाई मात्र थाहा हुने उनले बताए । कलेजले सरकारी छात्रवृत्तिमा अध्ययनरत ती छात्रलाई आयोगमा उजुरी गरेको आरोपमा स्पष्टीकरणसमेत सोधेको थियो । उनीहरूले सोमबार स्पष्टीकरण बुझाएपछि मंगलबार बोलाइएको थियो तर परीक्षा आवेदन फाराम भर्न पाएनन् ।यो समाचार कन्तिपुरमा छापिएको छ ।