काठमाडौं । राष्ट्रिय टिमका पूर्वकप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ अध्यक्ष बन्ने पक्का भएको छ । दैनिक जागरणले उल्लेख गरेको समाचारअनुसार राज्य क्रिकेट संघका प्रतिनिधिहरुको बैठकमा गांगुलीलाई अध्यक्ष बनाउने सहमति भएसँगै गांगुली अध्यक्ष बन्ने पक्का भएको हो ।
भारतीय क्रिकेट टोलीका ४७ वर्षिय पूर्वकप्तान गांगुली बंगाल क्रिकेट संघका अध्यक्ष हुन् । उनी १९९२ देखि २००८ सम्म भारतीय क्रिकेट टोलीका सदस्य थिए । गांगुलीले आफ्ना लागि यो एक अवसर रहेको बताएका छन् । केही गर्नका लागि समय आएको बताएका गांगुलीले उत्कृष्ट अवसर समेत रहेको उल्लेख गरे ।
गांगुली अध्यक्षसँगै जय शाह सचिव बन्ने दैनिक जागरणको दाबी छ । जय शाह भारतीय गृहमन्त्री अमित शाहका छोरा समेत हुन् । पूर्वखेलाडी ब्रिजेश पटेललाई आईपीएलको नयाँ अध्यक्ष बनाइने दैनिक जागरणले जनाएको छ । उनले बीसीसीआई र कर्नाटक राज्य क्रिकेट एसोसिएसनमा काम गरिसकेका छन् ।
अरुण ठाकुर कोषाअध्यक्ष र जयस जर्ज संयुक्त सचिव तथा उपाध्याक्ष माहिम बर्मालाई बनाउने तय भएको दैनिक जागरणको समाचारमा उल्लेख छ ।
बीसीसीआईको पाँच सदस्यीय समितिका लागि आज मनोनयन दर्ता हुुँदैछ । राज्य क्रिकेट संघका प्रतिनिधिहरुको बैठकमा लगभग सबै सहमति भइसकेकाले सबै निर्विरोध चयन हुने बताइएको छ ।