वीरगन्ज । नेपालबाट भारततर्फ प्रवेश गरेको जंगली हात्तीको आक्रमणबाट एकजना भारतीय पत्रकार घाइते भएका छन् । आइतबार बिहान भारतको बिहार राज्यमा पर्ने सीतामढी जिल्लास्थित सुप्पी प्रखंड क्षेत्रमा जंगली हात्ती पुगेपछि रिपोर्टिङ गर्न गएका स्थानीय पत्रकार पुरुषोत्तम कुमार महतो हात्तीको आक्रमणबाट घाइते भएका हुन् ।
बाराबाट आएका जंगली हात्ती रौतहट सदरमुकाम गौर हुँदै भारततिर प्रवेश गरेको हो । क्यामेरा लिएर हात्ती नजिकै गएर भिडियो बनाउने क्रममा भारतीय पत्रकार महतोलाई हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
आक्रमणपछि स्थानीयहरुले होहल्ला गर्दा हात्ती भागेको बताइएको छ । आक्रमणबाट गम्भीर रूपमा घाइते भएका पत्रकार महतोको सुप्पी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सितामढी अस्पताल पठाइएको हिन्दुस्तान दैनिकका बौरगनिआ सम्बाददाता राजकपुरले जनाएका छन् ।बाराको कलैया नजिकैबाट शनिबार रौतहट छिरेका जंगली हात्ती अहिले भारतीय गाउँ जुडियाही हुँदै सुप्पी प्रखण्डमा पुगेको छ । बाराबाट रौतहटको फतुवा बिजयपुर, कटहरिया, उचिडिह, शिवनगर, मिठुअवा हुँदै शनिबार साँझ दुर्गा भगवती गाउँपालिका क्षेत्रमा पुगेको जंगली हात्ती राति १२ बजे सदरमुकाम गौरमा देखापरेको थियो ।
उक्त हाती बेलबिछवा गाउँ हुँदै सीमापारी गएको स्थानीयवासीले बताएका छन् ।हाल उक्त हात्ती बैरगनिया भन्दा ७ किलोमिटर टाढा रहेको जुडियाही गाउँस्थित एउटा बगैँचामा देखिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले हात्तीको अवस्थाबारे पुष्टि गर्दै राष्ट्रिय निकुञ्ज पर्साको टोली र संयुक्त सुरक्षा टोली हात्तीको लोकेसनमा रहेको तथा उद्धारको पहल भइरहेको जनाए ।उक्त हात्तीले शुक्रबार बिहान कलैया अवधापुरमा एकजना किसानको ज्यान लिएको थियो भने रौतहटमा पनि विभिन्न व्यक्तिको धनमाल नोक्सान गरेको थियो ।