वीरगंज । गृहमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन्।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए। भेटमा प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले बताए।
राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा नेता नेपालसँगका भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुचि नदेखाएको बताए।
उनले भने, ‘माधव कमरेडकोमा गएका थियौँ- म, सुवासजी र शंकरजी भएर। उहाँसँग एकछिन कुराकानी भयो। हामीले के आग्रह गर्यौँ भने, पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ। हाम्रा बीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन्। तपाईंहरु एक आपसमा बस्नुहोस् नेताहरु पनि। हामी पनि आपसमा विभिन्न साथीहरुसँग छलफलमा छौँ। समाधान खोजेर अगाडि जाउँ। पार्टी अध्यक्ष र तपाईंकोबीचमा मिटिङ होस् हामी त्यो चाहन्छौँ भनेर हामीले प्रस्ताव राख्यौँ। उहाँले खासगरी प्रधानमन्त्रीसँग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो। भेट्ने कुरामा खासै रुचि राख्नुभएन। ठीकै छ, छलफल गर्दै जाउँ भनेर हामी उठ्यौँ।’