वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनको संज्ञा दिँदै संयुक्त विद्यार्थी सङ्गठनले पुत्ला दहन गरेका छन् । ओलीले प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका भ्रातृ सङ्गठनले संयुक्त रूपमा बुधबार जनकपुरधाम नगरमा प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।
रेल्वे स्टेसनबाट निस्केको संयुक्त विद्यार्थी सङ्गठनले नगर प्रदर्शन गर्दै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । संयुक्त विद्यार्थीहरूले जनकपुरधामको रेल्वे स्टेसन हुँदै भानु चोक, शिव चोक र जनक चोकसम्म प्रदर्शन गर्दै कोणसभामा परिणत भई समापन भएको थियो ।
संयुक्त विद्यार्थी सङ्गठनमा अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधर अनेरास्ववियू धनुषा, नेविसंघ धनुषा र समाजवादी विद्यार्थी संघ धनुषा लगायत विद्यार्थी सङ्गठनहरूले जनकपुरधाम नगरमा प्रदर्शन गरेको थियो ।