सीको नेपाल भ्रमण : तमोर र माडी जलाशययुक्त आयोजना बनाउन सहमति
वीरगंज संजाल
२७ आश्विन २०७६, सोमबार ०८:०९
४५७३
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसर पारेर नेपालको जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) र चीनको पावर चाइनाले संयुक्त रूपमा दुई जलाशययुक्त आयोजना निर्माणमा समझदारी गरेका छन् ।
आइतबार सम्पन्न सहमतिअनुसार ७६२ मेगावाट क्षमताको तमोर र १५७ मेगावाटको माडीखोला जलविद्युत् आयोजना निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
एचआईडीसीएल नेपाल सरकार स्वामित्वको कम्पनी हो भने चाइना पावर चीन सरकारको स्वामित्वमा रहेको कम्पनी हो । तमोर जलविद्युत् आयोजना निर्माणका लागि लगानी बोर्डले एचआईडीसीएलको आशयपत्र स्वीकृत गरेको थियो ।
यसअनुरूप एचआईडीसीएलले विदेशी साझेदार खोजेको र पावर चाइनाले आयोजना निर्माणमा साझेदारी गर्ने भएको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले जानकारी दिए ।