वीरगन्ज । कोभिड र डेंगुको लक्षण करिब उस्तै हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डेंगुका लक्षण कोभिड–१९ सँग मिल्दोजुल्दो हुने भएकाले यसबाट बच्न सतर्क हुनु पर्ने मन्त्रालयले बताएको छ ।
“वर्षा सुरु भएसँगै कोभिड–१९ सँग लक्षण मिल्ने डेंगुको जोखिम बढेको छ । यस महामारीको समयमा आफ्नो स्वास्थ्यमा ध्यान दिन अझ जरुरी छ । त्यसमाथि डेंगुका लक्षण कोमिड–१९ सँग पनि मिल्दोजुल्दो हुन्छन्,” मन्त्रालयले भनेको छ ।
एक्कासी ज्वरो आउने, थकान महसुस हुने, आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने वाकवाकी लाग्ने वा बान्ता हुने यस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा गएर जचाउन मन्त्रालयले आग्रह गरेको छ ।
कोभिड–१९ सँग लक्षण मिल्ने भएकाले अनुमानका आधारमा जथाभाबी औषधि सेवन नगर्न भनेको मन्त्रालयले चिकित्सकको सल्लाह र परामर्शलाई महत्त्व दिन अनुरोध गरेको छ ।
परिवारमा कसैलाई यस्ता लक्षण देखिए तत्काल आइसोलेसनमा बस्ने र अस्पताल जानु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वर्षायाममा डेंगु र कोरोना दुवैबाट सुरक्षित हुने उपायहरुः
लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, घरबाहिर जाँदा अनिवार्यरूपमा मास्क लगाउने, घर वरपर प्लास्टिक, सीसा, खपटा, सिडी, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्नु पर्छ । पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, पानीको नाली, ढल, पोखरीमा हप्ताको २ दिन डढेको मोबिल वा मट्टितेल छर्कनु पर्छ । खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, कुलरमा हप्ताको एक वा दुई पटक मट्टितेल हाल्ने, बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुने र भौतिक दूरी कायम गर्ने, सुत्ने बेला झुलको प्रयोग गर्नु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।