रुस | रुसले ब्रिटिश नौसेना रोयल नेभीको डिस्ट्रोइअर लडाकु पानीजहाज उस्को जलक्षेत्रमा प्रवेश गरेपछि त्यसमाथि गोली प्रहार गर्नुका साथै अगाडिको जलमार्गमा बम खसालेको बताएको छ।उक्त घटना क्राइमिया नजिकै भएको बताइएको छ, जस्लाई रुसले सन् २०१४ मा युक्रेनबाट आफूमा गाभेको थियो।गस्तीमा रहेको एउटा रुसी लडाकु पानीजहाज र लडाकु विमानले ब्ल्याक सी को उक्त जल क्षेत्रमा ब्रिटिश डिस्ट्रोइअर तर्फ चेतावनी स्वरूप प्रहार गरेको विवरणहरू आएका छन्।
रुसको इन्टरफ्याक्स समाचार एजेन्सीले देशको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उक्त ब्रिटिश पानीजहाज एचएमएस डिफेन्डर क्राइमिया नजिकै रुसी जलक्षेत्रमा प्रवेश गरेको जनाएको छ।मस्कोका अनुसार उक्त चेतावनी स्वरूप गरिएको कार्वाही पछि एचएमएस डिफेन्डरले आफ्नो बाटो मोडेको थियो।इन्टरफ्याक्सले मन्त्रालय स्रोतलाई उल्लेख गर्दै जनाए अनुसार ब्रिटिश दूतावासका रक्षा सहचारी डिफेन्स एट्याशेलाई रुसी विदेश मन्त्रालयमा डाकिएको थियो।
एचएमएस डिफेन्डर टाइप ४५ वर्गको लडाकु पानीजहाज हो जुन युकेको क्यारिअर स्ट्राइक ग्रुप भनिने समूहको एक भाग हो।रोयल नेभीको वेबसाइटका अनुसार उक्त लडाकु पानीजहाज ब्ल्याक सी क्षेत्रमा परिचालित छ।