बिरगंज । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नगेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जी-७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन । तस्बिर : रोयटर्स
पत्रकार सम्मेलनमा प्रधानमन्त्री जोन्सनले भने, ‘सुरुमा चीनको वुहान सहरको एक ल्याबबाट कोरोना भाइरसको विषाणु लिक भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।’ सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको विषाणु उक्त ल्याबबाट निस्किएको भनिएको थियो । विशेष गरेर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको प्रयोगशालामा तयार भएको हुनसक्ने भन्दै आधारहीन आरोप लगाएका थिए ।
तर चीनले भने अमेरिकाले आधारहीन दोषारोपण गरेको बताउँदै आएको छ । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो । मार्चमा विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले वुहानको स्थलगत भ्रमण र अनुसन्धानपछि प्रतिवेदन सार्वजनिक गर्दै कोरोना भाइरसको उत्पत्ति प्रयोगशालामा तयार भएको भन्ने आरोपलाई खारेज गरेको थियो । डब्लूएचओले कोरोना भाइरसको उत्पत्तिबारेको अध्ययनको प्रारम्भिक प्रतिवेदनमा कोरोना भाइरस जनावरबाट मानिसमा सरेको बताइएको छ । चमेरो र सालकले कोरोना सारेको हुन सक्ने प्रारम्भिक अध्ययनमा बताइएको छ ।
डब्लूएचओको प्रतिवेदनमा फार्ममा पालिएको जंगली जनावर कोरोना भाइरस सार्ने प्रमुख स्रोत भएको हुन सक्ने सम्भावना बलियो भएको बताइएको छ । तर कोरोना भाइरसको उत्पत्तिको स्रोत मानिएको चमेरोले कुन जनावरलाई संक्रमित बनायो भन्नेचाहिँ अध्ययनमा खुल्न सकेको छैन । चमेरोबाट कुनै जनावरमा सरेर त्यसपछि मानिसमा कोरोना भाइरस सरेको हुन सक्ने प्रतिवेदनमा जनाइएको छ ।
अमेरिका, बेलायत, क्यानडा, जापान, नर्वे, डेनमार्कलगायतका विभिन्न १४ मुलुकले भने डब्लूएचओको प्रतिवेदनमा प्रश्न उठाएका थिए । त्यस्तै युरोपेली युनियनले पनि कोरोना भाइरसको उत्पत्तिबारे अझ अनुसन्धान हुनुपर्ने र त्यो स्वतन्त्र हुनुपर्ने बताएको थियो ।
उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताएका थिए । उनले यस विषयमा बेलायतका वैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताएका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले भने अमेरिकी जाँच एजेन्सीहरू कोरोना भाइरसको उत्पत्तिका बारेमा निष्कर्षमा पुगिनसकेको बताउँछन् । केही दिनअघि कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न बाइडेनले जाँच एजेन्सीलाई निर्देशन दिएका थिए ।