वीरगन्ज । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य गम्भीर भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा तीन दिनदेखि उपचार गराउँदा पनि सुधार नभएपछि थप उपचारका लागि भारत लगिएको हो।
उनलाई हवाई नियमित उडानमार्फत दिल्ली लगिएको हो । स्रोतका अनुसार उनको स्वास्थ्यावस्था नाजुक छ। मिर्गौलामा समस्या देखिएपछि दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनलाई लगातार ज्वरो आएपछि तीन दिनअघि नर्भिक अस्पताल भर्ना गरिएको थियो । नर्भिकमा उपचारका क्रममा सुधार नआएपछि भारत लगिएको हो।
यसअघि गत माघमा स्वास्थ्यमा समस्या आएपछि खनाल उपचारका लागि दिल्ली पुगेका थिए। त्यतिबेला पनि उनको एपोलोमा स्वास्थ्य परीक्षण गरिएको थियो । खनालको पारिवारिक स्रोतका अनुसार मिर्गौलामा समस्या देखिएपछि एपोलोमा उपचार गराउने गरी लागिएको हो ।
उनीसँग श्रीमती, छोरा र एकजना चिकित्सक पनि दिल्ली गएका छन्। यसअघि खनाललाई कोरोना संक्रमण भएको थियो। त्यसबेला पनि उनको उपचार नर्भिकमै गरिएको थियो। उनमा पोस्ट कोभिड समस्या पनि देखिएको चिकित्सकहरुले बताएका छन्।
नर्भिक अस्पताल निकट चिकित्सकहरूका अनुसार उनको मुटुले पनि राम्रो काम गरिरहेको छैन। खनाललाई आज बिहान पार्टी महासचिव ईश्वर पोखरेल नर्भिकमा भेट्न पुगेका थिए । नर्भिकमा पोखरेललाई खनालले पार्टी मिलाउन आग्रह गरेका थिए।