वीरगन्ज । बारा जिल्लामा पनि प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै थप्ने निर्णय गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लम्ब्याउने निर्णय गरेको हो ।
आइतबार बसेको डीसीसीएमसीको बैठकले जिल्लामा जारी निषेधाज्ञालाई लम्ब्याउँदै असार ६ गतेसम्म थपेको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले एउटा सूचना जारी गर्दै जेठ ३० गतेदेखि लागु हुनेगरि असार ६ गते राति १२ बजे रातिसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरिएको जनाएको छ ।
निषेधाज्ञा थपिएपनि अत्यावश्यक औषधी, खाद्यान्न लगायत पसलहरुलाई बिहान ६ बजेदेखि ११ बजेसम्म खोल्ने अनुमति दिइएको सूचनामा उल्लेख छ । यसअघिसम्म पसलहरु ८ बजेसम्म मात्र खोल्ने अनुमति थियो ।
प्रशासनले निषेधाज्ञा पालना गर्न सबै व्यक्ति/संघ संस्था/पेशाकर्मी/व्यवसायी तथा आमनागरिकलाई आग्रह गरेको छ । निषेधाज्ञा उल्लंघन गरेको पाएमा प्रचलित कानून अनुसार कारवाही हुने प्रशासनले जनाएको छ ।