वीरगन्ज । विदेशबाट आउने यात्रुले आफ्नै खर्चमा अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने, दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने र त्यसको सबै खर्च सम्बन्धित व्यक्तिले नै व्यहोर्ने गरी नयाँ मापदण्ड जारी भएको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना गरेर सातामा ५ वटा अन्तर्राष्ट्रिय उडान अनुमति दिने जेठ १३ गतेको निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले ‘नेपाली तथा विदेशी नागरिक विदेशबाट नेपालआउँदा पालना गर्नुपर्ने २८ बुँदे मापदण्ड–२०७८’ ल्याएको हो । सरकारले तोकेको क्वारेन्टाइन, होम क्वारेन्टाइन, यात्रुको व्यवस्थापन, होटल क्वारेन्टाइन अवधि व्यवस्थापन, होम क्वारेन्टाइन निगरानी र अन्य विषय समेटिएका ६ वटा क्षेत्रका २८ बुँदामा मापदण्डलाई समेटिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्रलगायत सम्बन्धित निकायको समन्वयमा मापदण्डको मस्यौदा बनाएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको थियो । मस्यौदालाई स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले मापदण्ड जारी गरेको हो । मापदण्डको पालना गर्नेलाई मात्रै नेपाल आउन अनुमति प्रदान गर्न विदेशस्थित कूटनीतिक नियोगहरूलाई परिपत्र गरिएको छ ।
कान्तिपुर दैनिकले लेखेको छ।