वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना कोरोना संक्रमित थपिएका छन् ।
पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलित ९६ जनाको आरटी पिसिआर परीक्षण गर्दा पर्साका २, बाराका २ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा.सरोजरोशन दासले जानकारी दिए ।
१ जनामहिलासहित थपिएका संक्रमितहरुको सिटि भ्यालु २७.३ देखि ३२.८ सम्म रहेको छ । कोभिड फोकल पर्सन डा. दासका अनुसार थपिएका संक्रमितहरु ११ वर्षदेखि ५० वर्ष उमेर समूहका रहेका छन् । यस्तै सोमवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ निवासी ५१ वर्षीय महिलाको मृत्यु भएको छ । त्यस्तै पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ निवासी ६५ वर्षीय पुरुषको पनि सोमवार नै मृत्यु भएको हो ।
सर्लाहीको बरहथवा ६ की ५५ वर्षीय महिलाको पनि मृत्यु भएको डा. दासले बताए । सोमवार तिनै जनाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।