पर्सा | जिल्ला उच्चाङ्ग्ल रामदेव कलवार माद्यामिक विद्यालय पोखरियामा नगरप्रमुख दिपनारायण रौनियारले एकलौटी ढंगले प्रधानाध्यापक नियुक्ती गरेको उपप्रमुख सल्मा खातुनले आरोप लगाएकी छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेको पोखरिया नगरपालिकाका नगरप्रमुख रौनियारले सङ्घीय व्यवस्थाको अवहेलना गर्दै मनोमानी रुपमा एकलौटी ढंगले प्रधानाध्यापक नियुक्ती गरेको भन्दै उपप्रमुख खातुनले आरोप लगाएकी हुन् ।
विद्यालयमा प्रधानाध्यापक नियुक्तीको विषयलाई लिएर बरिष्ठताको आधारमा २ शिक्षकबिच विवाद रहेको अवस्थामा नगरप्रमुख रौनियारले कसैसँग समन्वय र सल्लाह नगरी एकलौटी रुपमा ओमप्रकाश रौनियारलाई नियुक्ती गरेका छन् । जेठ २० गते प्रधानाध्यापक नियुक्तीको विषयमा स्पष्ट पार्नका निमित्त छलफल गर्न लिखित रुपमा नगरप्रमुख रौनियारलाई आग्रह गर्दा पनि विद्यालय व्यवस्थापन समिति, नगरपालिकाको शिक्षा समिती, नगर कार्यपालिकाको समिति लगायतसँग छलफल नगरी नियुक्ती गरेको उपप्रमुख खातुनले बताईन् ।
यता नगरप्रमुख रौनियारले भने प्रशासकिय अधिकृतले पेश गरेपछि प्रक्रिया बुझेर आफुले बरिष्ठताका आधारमा नियुक्ती गरेको प्रतिक्रिया दिए । खुला र जनजातीमध्ये खुलाको तेस्रो र जनजातीको ३६ औँ नम्बरमा परेपछि बरिष्ठता हेरेर नियुक्ति गरिएको नगरप्रमुख रौनियारले बताए । नगरप्रमुख रौनियारले देखाएको गैरजिम्मेवार प्रवृति प्रति उपप्रमुख खातुन लगायत अन्य जनप्रतिनिधि र स्थानीयले प्रेस विज्ञप्ति पनि जारी गरेका छन् ।