वीरगंज । प्रदेश २ को सिरहा र सप्तरीमा २७ जना प्रदेश सभा सदस्य छन् । प्रदेश सरकारमा चार मन्त्री छन् । तर, मन्त्री र सांसदले आफ्ना जिल्लामा स्वास्थ्यसम्बन्धी योजनालाई प्राथमिकता दिएको पाइँदैन । प्रायः सबैले मठमन्दिर, भवन, सडकका योजनामा बजेट छुट्याएका छन् । सप्तरीबाट प्रदेश सरकारमा दुई मन्त्रीसहित १४ सांसद छन् । प्रदेशको सामाजिक विकासमन्त्री नवलकिशोर साह ‘प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम’अन्तर्गतको १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्न सकिने बताउँछन् । ‘निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटमध्ये स्वास्थ्य क्षेत्रमा १० प्रतिशत लगानी गर्नुपर्ने हो,’ उनले भने, ‘तर, चालू अवमा किन योजना पारिएन, मलाई पनि त्यसको जानकारी छैन ।’मन्त्री साह आफैँले पनि निर्वाचन क्षेत्र विकास कार्यक्रमको तीन करोड बजेटमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित एउटा योजना पारेका छैनन् । तीन करोडका २५ योजनामध्ये मन्दिर÷मस्जिदमा ४६ लाख ५० हजार, सामुदायिकलगायतका भवनमा एक करोड १९ लाख, सिँचाइ÷खानेपानी नौ लाख ९० हजार र सडकमा नौ लाख ९० हजार रुपैयाँ खर्च गर्ने गरी विनियोजन गरेका छन् ।
शैलेन्द्रप्रसाद साह, कृषि तथा सहकारीमन्त्री, प्रदेश २
गत वर्ष र यो वर्ष पनि स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेनन् । ‘प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम’को कार्यविधि नै संशोधन गर्नुपर्छ । परिवर्तन नभएसम्म कोभिड रोकथाम नियन्त्रणमा खर्च गर्न मिल्दैन ।सप्तरी गृहजिल्ला भएका प्रदेश २ का कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले ‘प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम’को कार्यविधि स्वास्थ्य क्षेत्रमा रकम खर्च गर्न बाधक बनेको दाबी गरे । मास्क, स्यानिटाइजरजस्ता सामग्री खरिद गरी वितरण गर्न कार्यविधि नै संशोधन गर्नुपर्ने भएकाले अन्य क्षेत्रमा बजेट प्राथमिकतामा परेको उनको भनाइ छ । ‘गत वर्ष र यो वर्ष पनि स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेनन्,’ मन्त्री साहले भने, ‘कार्यविधि संशोधन गर्नुपर्छ । परिवर्तन नभएसम्म कोभिड रोकथाम नियन्त्रणमा खर्च गर्न मिल्दैन ।’ मन्त्री साहले तीन करोडमा २७ योजनामध्ये मन्दिर/मस्जिदमा ६३ लाख ३० हजार, सामुदायिकलगायतका भवनमा एक करोड आठ लाख, सडकमा २९ लाख ६० हजार विनियोजन गरेका छन् ।
सप्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य विन्देश्वरप्रसाद यादवले भने तीन करोडको २६ योजनामध्ये पाँच लाख रुपैयाँ सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ मा अधुरो आँखा अस्पताल भवन निर्माण गर्न बजेट विनियोजन गरेका छन् ।सिरहा गृहजिल्ला भएका प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले निर्वाचन क्षेत्र विकास कार्यक्रमको तीन करोड रुपैयाँ २८ योजनामा खर्च गरिरहेका छन् । उनले मन्दिर÷मस्जिदमा ९३ लाख ६० हजार, सामुदायिकलगायतका भवनमा ७८ लाख ६० हजार, सिँचाइ/खानेपानीमा ४९ लाख ५० हजार र सडकमा २१ लाख ७८ हजार रुपैयाँ विनियोजन गरेका छन् । उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले पनि स्वास्थ्य क्षेत्रमा एउटा पनि योजना पारेका छैनन् ।
मन्दिर/मस्जिद, भवन निर्माण, ग्राभेल प्राथमिकतामा
प्रदेश २ सरकारमा मुख्य भूमिकामा रहेका सिरहा र सप्तरीका मन्त्रीदेखि सांसदहरूको बजेट ग्राभेल, ट्युबेल, सडक, सिँचाइ, भवन र मठमन्दिर/मस्जिदमा खर्च हुँदै छ । सिरहा र सप्तरीका २७ सांसदमध्ये प्रत्यक्ष र समानुपातिकका २१ जनाले ‘प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम’अन्र्तगत चालू आर्थिक वर्षमा ५३ करोड रकम खर्च हुने गरी योजना बनाएका छन् । सांसदहरूले जिल्ला पूर्वाधार विकास कार्यालय सिरहामार्फत चार सय ६२ योजनामा ५३ करोड रुपैयाँ खर्च गरिरहेका छन् ।
‘प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम’अन्तर्गत तीन/तीन करोड रुपैयाँका चार सय ६२ योजना कार्यान्वयनमा छ । जसअन्तर्गत सांसद लगनलाल चौधरी २९, अशोककुमार यादव २८, दिलीपकुमार साह २३, प्रमोदकुमार यादव २८, मदनसेनप्रसाद श्रीवास्तव २६, रामकुमार यादव २६, मोहम्मद समिम २९, विन्देश्वरप्रसाद साह २६, सत्यनारायण मण्डल २२, गोविन्दबहादुर न्यौपाने २७, अभिषेक यादव २१, मनीषकुमार सुमनको २८ योजना छन् ।
प्रदेश २ का समानुपातिकतर्फका सांसदहरूले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत एक/एक करोडका विभिन्न योजना बनाएका छन् । जगतप्रसाद यादव ६, जगतारैन देवी सुडिन १०, फूलीयादेवी सदा आठ र सुनितादेवी मोचीले नौवटा योजना छनोट गरेका छन् ।
विघटित प्रतिनिधिसभाका चार सांसदको एक सय योजना, स्वास्थ्यका दुई मात्र
सिरहाबाट विघटित प्रतिनिधिसभाका सदस्य र वर्तमान सरकारका मन्त्रीसहितले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’अन्तर्गतबाट प्राप्त बजेटमा एक सय योजना छनोट गरेका छन् । संसदीय मामिला तथा कानुनमन्त्री लीलानाथ श्रेष्ठले २६ योजनामध्ये सिरहा नगरपालिका–५ मानपुरमा अधुरो स्वास्थ्य चौकी भवन निर्माण गर्न पाँच लाख र पूर्वमन्त्री राजकिशोर यादवले १९ योजनामध्ये एम्बुलेन्स खरिद गर्न १७ लाख रुपैयाँ विनियोजन गरेका छन् । निवर्तमान सांसद सुरेशचन्द्र दासले २७ र प्रदीप गिरीले २८ योजना छनोट गरेका छन् । १६ करोडको योजनामा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई योजनामा २२ लाख रुपैयाँ मात्र विनियोजन भएको छ ।
सिरहा र सप्तरीमा कोरोनाको जोखिम बढ्दो
सिरहा र सप्तरीमा कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी छ । कोरोनाबाट सिरहामा वैशाखयता ७० जनाको मृत्यु भइसकेको छ । ६ सय आठजना सक्रिय संक्रमित छन् । सप्तरीमा ८२ जनाको मृत्यु र १६ सय ८३ जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा बसेका छन् ।
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट छैन । अक्सिजन प्लान्ट नहुँदा सुनसरीबाट अक्सिजन रिफिल गराई ल्याउनुपरेको छ । चार बेडको भेन्टिलेटर भए पनि जनशक्ति अभावमा सञ्चालनमा नरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । अक्सिजन अभाव हुँदा गत साता गजेन्द्रनारायण सिंह अस्पतालमा संक्रमितलाई निकै सकस भएको थियो ।
जिल्ला अस्पताल सिरहामा अक्सिजन प्लान्ट भए पनि बजेट अभावमा रिफिलिङ गर्ने उपकरण जडान हुन सकेको छैन । जसले गर्दा लहानबाट अक्सिजन रिफिल गराएर ल्याउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल सिरहाका मेसु डा.नागेन्द्रप्रसाद यादवले बताए । जिल्ला अस्पताल सिरहा र सप्तरीमा संक्रमितले उपचारबाहेक अन्य बन्दोबस्ती आफैँ गर्नुपर्छ । ‘हामीले चिकित्सकीय सुविधा दिन्छौँ,’ मेसु यादवले भने, ‘खाना र औषधि सम्बन्धित व्यक्तिकै परिवारले आफैँ व्यवस्थापन गर्नुपर्छ ।’
गत आर्थिक वर्ष र चालू आव ०७७/७८ को सांसद विकासको बजेटमा सिरहा र सप्तरीका प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको प्राथमिकतामा कोरोना भाइरस रोकथाम र नियन्त्रण रहेको पाइँदैन । प्रदेश २ सरकारको प्राथमिकता कोरोना महामारी नियन्त्रणभन्दा अन्यत्रै रहेको नागरिक समाजका अगुवाहरूको भनाइ छ । नागरिक अगुवा रामकिशोर यादवले सांसदहरूको प्राथमिकतामा स्वास्थ्य र शिक्षा क्षेत्र हुनुपर्नेमा अन्यत्रै बजेट विनियोजन गरेको बताए ।