वीरगन्ज ।जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश नम्बर २ मा आज प्रदर्शन गर्ने भएको छ ।जसपा अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई समूहका नेता–कार्यकर्ताले आज प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने बताइएको छ । प्रदेश २ का ८ जिल्लामा विरोध प्रदर्शन गर्न जिल्ला समन्वय समितिलाई परिपत्र गरिएको जनाइएको छ ।
प्रदेश समिति तथा जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन, राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला जलाउने र मसाल जुलुस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रदेशका ८ जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको हो ।
जसपा अध्यक्ष महन्थ ठाकुरले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थन गर्दै आइरहेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले विरोध गर्दै आइरहेका छन् । यसै कारण अहिले जसपाभित्र विवाद बढ्दै गइरहेको छ ।