ऊ पाँच वर्षको भयो। एकदम चंख देखिन्छ। उसका आँखा तेजिला र राता छन्। उसको घाँटी चम्किलो हरियो र गुलाबी रङको छ।
ऊ ‘च्याम्पियन’ हो। उसले तीनवटा च्याम्पियनसिप जितिसकेको छ। गत वर्ष राष्ट्रियस्तरको युरोपियन र ओलम्पिकमा स्वर्ण पदक जितेको थियो।
उसको नाम हो, अर्मान्डो।
पदक जितेपछि अर्मान्डोलाई अनलाइन सपिङ वेबसाइटमा बिक्रीका लागि राखियो। संसारभरको ध्यान खिचेको अर्मान्डो बेल्जियमको हो। उसलाई एक चिनियाँ व्यक्तिले १६ करोड रूपैयाँभन्दा बढी मूल्यमा किने। यो अर्मान्डोका ‘साथी’हरूको बिक्री मूल्यभन्दा तीन गुणा बढी हो।
सोच्नुहोला, यतिका धेरै मूल्य तिरेर किनिएको अर्मान्डो को हो?
अर्मान्डो भनेको ‘रेसिङ’ परेवा हो। अर्थात्, दौड प्रतियोगिताहरूमा भाग लिने धावक परेवा।
सन् २०१८ मा ‘एस पिजन च्याम्पियनसिप’ र २०१९ मा ‘ओलम्पियाड’ तथा ‘एंगोलोमी’ प्रतियोगिता जितेको अर्मान्डो संसारकै महँगो धावक परेवा हो।
यसअघि सबभन्दा धेरै मूल्यमा बिक्री भएको परेवाको नाम ‘नादिन’ थियो। उसको भाउ झन्डै पाँच करोड थियो।
अर्मान्डो ‘जोएल भर्सुट’ भन्ने व्यक्तिको स्वामित्वमा थियो। उनले अर्मान्डोलाई बिक्रीमा राख्दा यति धेरै मूल्यमा बिक्ला भनेर कसैले कल्पना गरेका थिएनन्। जोएलले अर्मान्डोअघि थुप्रै परेवा बेचिसकेका छन्। अर्मान्डो बेच्दा पनि उनले १७८ वटा परेवा सँगसँगै बेचेका थिए।
यस्ता धावक परेवा ‘पिजन प्याराडाइज’ नामको वेबसाइटमा पाइन्छन्। के तपाईंलाई थाहा छ, यस्ता सम्भ्रान्त चराहरू किन यति महँगा हुन्छन्?
यसबारे थाहा पाउन ‘पिजन रेसिङ’ बारे थोरै जानकारी हुनुपर्छ। परेवा दौडको इतिहास बेल्जियमसँग जोडिन्छ। धेरै शताब्दीअघिदेखि परेवालाई सन्देशवाहकका रूपमा प्रयोग गर्न पालिँदै आएको थियो। संसारको पहिलो लामो दुरीको परेवा दौड बेल्जियमबाट १९ औं शताब्दीमा सुरू भएको हो। बेल्जियममा त्यो बेलादेखि नै परेवामा आकर्षित मान्छेहरू थिए।
दोस्रो विश्वयुद्धपछि बेलायतमा परेवा दौड एकदमै चर्चित खेल बन्यो। त्यो बेला झन्डै ५ लाख परेवा दौडमा सक्रिय थिए। बेलायत, नेदरल्यान्ड्स, उत्तरी फ्रान्स, बेल्जियम लगायत देशमा परेवाहरूको दौड गराइन्छ। पछिल्लो समय यो क्रम घट्दो छ।
धावक परेवाहरू सडकमा पाइने अरू परेवाजस्ता हुँदैनन्। उनीहरूको उडान गतिसँगै रूपमा पनि विशेष ध्यानमा राखिन्छ। परेवाका झन्डै ८ सय प्रजातिमध्ये केही अत्यन्त सुन्दर मानिन्छन्। यस्ता आकर्षक परेवाहरूको प्रदर्शनी पनि गरिन्छ।
रोमन लेखक प्लिनी द एल्डरको ‘न्याचुरल हिस्ट्री’ नामक किताबमा उनले केही मान्छेमा परेवाको अति धेरै मोह हुने लेखेका छन्। ईशापूर्व ५० तिर एक जोडी परेवा चार सय दिनारीमा बिकेको उल्लेख गरेका छन्। दिनारी भनेको प्राचीन रोममा चल्ने चाँदीको सिक्का हो। त्यो बेलाको चार सय दिनारी भनेको रोममा एक सैनिक जवानको दुई वर्षको तलब थियो।
पछि परेवाहरू लामो दुरीमा सन्देशवाहकका रूपमा प्रयोग हुन थाले। त्यो बेला परेवाहरू १६ सय किलोमिटरसम्म उड्न सक्थे। कम दुरीमा उनीहरूको गति झन्डै डेढ सय किलोमिटर प्रतिघन्टा हुन्थ्यो। विश्वयुद्धहरूमा परेवाको भूमिका महत्वपूर्ण रह्यो। तर, उनीहरूको भूमिका सन्देशवाहका रूपमा मात्र सीमित भएन।
सन् १९०७ मा जर्मनीका फार्मासिस्ट जुलियस न्युब्रोनरले औषधि पुर्याउने काममा परेवा प्रयोग गरे। उनले सानो आकारको क्यामरा बनाएर परेवाको शरीरमा जोडिदिए। यसले खिचेका फोटाहरू युद्धमा निकै प्रयोग भए।
अचेल परेवाहरूले सन्देशवाहकका रूपमा काम गरेको पाइँदैन। यिनीहरूको प्रयोग दौड प्रतियोगितामा हुन्छ। दौडका लागि बेल्जियमका चराहरू संसारकै उत्कृष्टमध्ये पर्छन्। यसको कारण ती चराको राम्रो स्याहार र हुर्काइ हो।
बेल्जियम महँगा चराहरू जन्मिने र हुर्किने ठाउँ हो भने यिनीहरूको ठूलो र महँगो बजार चीन हो।
पहिले–पहिले सामान्य मान्छेले पनि धावक परेवा किन्न सक्थे। केही वर्षयता भने चीनकै कारण यो एकदमै महँगो भएको छ। अर्मान्डोसहित नादिन, बोल्ट (करिब चार करोड रूपैयाँ), न्यु ब्लिकसेम (साढे चार करोड रूपैयाँ) जस्ता महँगा परेवा किन्नेहरू सबै चिनियाँ हुन्।
सामान्य धावक परेवाको मूल्य तीन लाख हाराहारी हो। जबकि, अर्मान्डोको मूल्य धेरै हुनुमा दुई चिनियाँ बिक्रेताहरूको प्रतिस्पर्धालाई मुख्य कारण मानिन्छ।
चीनमा परेवा दौडका लागि लाखौं खर्चेर पूर्वाधार बनेका छन्। बेइजिङस्थित ‘द पायोनियर इन्टरनेसनल क्लब’ ले यस्ता दौड प्रतियोगिता आयोजना गर्छ। यसमा परेवाहरू पाँच सय किलोमिटरसम्म उड्छन् र विजेताले लाखौं डलर पाउँछ।
संसारका अरू देशमा परेवामा लोभिनेहरूको संख्या घटेका बेला एसियाली मुलुकहरूमा बढ्दो छ। अहिले चीनमा परेवा खरिदकर्ताहरू एक लाखभन्दा बढी छन् भने बेलायतमा जम्मा २१ हजार छन्। ताइवानमा ५ लाख हाराहारी छन् र यो संख्या बढ्दो छ।
इराकमा पनि परेवा दौडको आकर्षण बढ्को छ। हालै इराकमा एक करोड हाराहारीमा धावक परेवा बिक्री भएको थियो।
धावक परेवाको बढ्दो मूल्यले समस्या पनि निम्त्याएको छ। सन् २०१८ मा दुई व्यक्तिले पुरस्कारको रकम जित्न उनीहरूका परेवालाई ‘बुलेट ट्रेन’ मा राखेका थिए। त्यस्तै ताइवानका पाँच जना व्यक्तिको समूह महँगा परेवा अपहरण गरेको आरोपमा पक्राउ परेको थियो।
एसियाली मुलुकमा परेवाको दौडलाई शानका रूपमा लिइन्छ।
तर धेरै वर्ष यसमा लागिपरेका अरू देशका व्यक्तिहरूका लागि पैसाभन्दा खेलप्रतिको मोह ठूलो कुरा हुन्छ।
चीनमा सांस्कृतिक क्रान्ति बेला परेवा पाल्न छुट भए पनि दौड प्रतिबन्धित थियो। यसलाई पुँजीपतिहरूको खेल मानिन्थ्यो। केही समयअघि मात्र यो खेल खुला भएको हो। यस वर्ष भने अमेरिका–चीन व्यापार युद्धले यो खेल प्रभावित भएको छ। धनाढ्य व्यापारीहरूले अमेरिकासँगको बिग्रँदो सम्बन्धलाई हेरेर अनावश्यक खर्च कटौती गर्न थालेकाले परेवा दौड प्रभावित भएको हो।
यति हुँदाहुँदै संसारमै सबभन्दा बढी मूल्य हालेर अर्मान्डो खरिद गर्ने चिनियाँ व्यापारी नै हुन्। उनको परिचय भने खुलाइएको छैन।
महँगो मूल्यमा किनिएको परेवालाई अब सुरक्षित राखिनेछ। उसलाई सुहाउँदो पोथी परेवा खोजेर गर्भाधान गराउन प्रयास गरिनेछ। यसबाट जन्मिने नयाँ परेवाहरूमा पनि अर्मान्डोका गुण सर्नेछन् भन्ने आशा छ।
अर्मान्डो र ऊजस्तै धावक परेवाले लामो दुरीको दौडमा भाग लिने समय पनि अब धेरै छैन। यस्तो दौड अर्मान्डोजस्ता अनुभवी परेवाका लागि पनि जोखिमपूर्ण मानिन्छ। यसले परेवा दौडको भविष्य अनिश्चित छ।
(बिजनेस इनसाइडर, द टेलिग्राफ, द इकोनोमिस्ट लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)