वीरगन्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई पनि पत्राचार गरेकी छन् । राष्ट्रपति भण्डारीले पुटिनलाई नेपाललाई खोप खरिदको लागि सहजीकरण गरिदिनको लागि पत्र पठाएको परराष्ट्र मन्त्रालयका एक पदाधिकारीले जानकारी दिए ।
राष्ट्रपति कार्यालयले जेठ १४ गते (शुक्रबार) परराष्ट्र मन्त्रालय हुँदै पुटिनलाई पत्राचार पठाएको छ । तर उक्त पत्र मस्कोस्थित नेपाली राजदूतावासले रुसको विदेश मन्त्रालयमा गएर हस्तान्तरण गर्न अझै बाँकी रहेको छ । उनले रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप सहयोगको लागि अनुरोध गरेकी हुन् । उक्त खोपलाई नेपालको स्वास्थ्य सेवा विभागले पनि आपतकालीन प्रयोगको लागि मान्यता दिइसकेको छ ।
कोरोना भाइरसको दोस्रो लहर बढेपछि नेपालमा संक्रमण रोक्नको लागि भन्दै राष्ट्रपति भण्डारीले सुरुआतमा जेठ १२ गते दक्षिण छिमेकी भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्राचार गरेकी थिइन् । उनले कोविन्दसँग नेपाललाई खोप सहयोग गर्नको लागि अनुरोध गरेकी थिइन् ।राष्ट्रपति भण्डारीले त्यसको भोलिपल्ट जेठ १३ गते चिनियाँ राष्ट्रपति सी चिनफिङसँग खोप खरिदमा सहजीकरण गरिदिनको लागि अनुरोध गर्न टेलिफोन संवाद गरेकी थिइन् । उक्त अवसरमा सीले नेपाललाई १० लाख खोप सहयोग गर्ने र खरिदमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त पनि गरेका थिए ।
त्यसपछि राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति पुटिनलसँग टेलिफोन संवाद गर्ने खोजेकी थिइन् । तर टेलिफोन संवाद सम्भव नभएपछि पत्राचार नै गर्ने निर्णयमा पुगेकी हुन् । राष्ट्रपति भण्डारीले जेठ १३ गते नै अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र पठाएर नेपाललाई खोप सहयोगको लागि अनुरोध गरेकी हुन् । उक्त पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले परराष्ट्र मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई शनिबार हस्तान्तरण गरिसकेका छन् ।
कूटनीतिक माध्यममार्फत नेपाललाई प्राप्त सूचना अनुसार उक्त पत्र बाइडेनले सोमबार पाउने कार्यक्रम रहेको छ । पुटिनलाई पठाएको पत्र भने बुधबार उनलाई पाउने प्रारम्भिक सूचना परराष्ट्र मन्त्रालयलाई प्राप्त भएको उच्च स्रोतले बतायो । यसअघि नेपालले रुससँग खोप खरिदको लागि पहल गरे पनि बीचमा पुगेर रोकिएको थियो । स्वास्थ्य मन्त्री हृदेयश त्रिपाठीले रुसबाट नेपालमा खोपको लागि वार्ता गर्न आएको एक उच्चस्तरीय टोलीले नेपाललाई ८० लाख खोप उपलब्ध गराउन सक्ने जनाएका थिए । तर उक्त कुरा कता पुगेर रोकियो भन्ने बारेमा मन्त्री त्रिपाठीले कसैलाई पनि बताएका छैनन् ।
कूटनीतिक विज्ञ दीनेश भट्टराई संवैधानिक राष्ट्रपतिले खोप आपूर्तिको लागि पहल गरिरहँदा नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्री (केपी ओली) कता हराएको भन्ने प्रश्न गरे । ‘राष्ट्रपतिको कदम ठिक हो । तर यो काम लागि कार्यकारी प्रमुखले गर्नु पर्ने हो । कार्यकारी प्रमुख र परराष्ट्र मन्त्री (प्रदीप ज्ञवाली) कता गए ? परराष्ट्र मन्त्रीको भूमिका यस्तै बेलामा बढी हुनु पर्ने हो,’ उनले भने,‘राष्ट्रपतिले संकटको बेलामा ढिलो भए पनि सहि कदम चाले पनि कार्यकारी प्रमुख र परराष्ट्र मन्त्रीले भूमिकालाई लिएर प्रश्न गर्नु पर्छ । किनकी संवैधानिक राष्ट्रपतिको यस्तो कदम अस्वभाविक छ ।’
अर्का कूटनीतिज्ञ अर्जुनकान्त मैनाली अहिले राष्ट्रपतिको कदमलाई हेर्दा ‘घरेलु खपत’ को बढी केन्द्रित भएको ठान्छन् । ‘नेपालले आवश्यक खोप ल्याउनको लागि साँच्चै पहल गरेको भए, परराष्ट्र मन्त्री थिए । परराष्ट्र मन्त्री स्तरको ‘वर्किङ लेभल’ बाट काम गर्न सकिन्थ्यो । त्यसमाथि कार्यकारी प्रमुख पनि थिए । तर यहाँ त संवैधानिक राष्ट्रपतिबाट काम भइरहेको छ,’ मैनालीले भने,‘यो आन्तरिक राजनीतिकलाई डाईभट गर्नको लागिमात्र पहल चालिएको को कि भन्ने प्रश्न उठेको छ ।’ उनले भारतबाट वा चीनबाट नेपालले खोप ल्याउन पहल गर्नको लागि परराष्ट्र मन्त्रीले पहल गर्न सक्ने बताए ।
‘नभए पहलको लागि परराष्ट्र मन्त्री दिल्ली वा वेइजिङ पनि जान सक्थें,’ उनले भने । उनी कूटनीतिमा प्रचार गरेर भन्दा नतिजामुखी हुँदै काम गर्ने पर्ने मान्छन् ।राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकाल भने राष्ट्रपतिको पहल नेपाल सरकार र परराष्ट्र मन्त्रालयभन्दा बाहिर गएर नभएको मान्छन् । उनले नेपाल सरकार र परराष्ट्र मन्त्रालयको समन्वयमा राष्ट्रको सर्वोच्व निकायलाई आवश्यक पर्दा प्रयोग गरेको बताए । ‘राष्ट्राध्यक्षको गुड अफिसलाई राष्ट्रको लागि आवश्यकता पर्दा राष्ट्रहरु बीचको उच्च तहमा सम्पर्क गर्नको लागि उपयोग गरिएको हो । सरकारकै समन्वयमा भएको हो,’ उनले भने । उनले यसलाई अन्यथा रुपमा लिन नहुने प्रष्ट पारे ।