बीरगन्ज । पर्सा प्रहरीले ५३ लाख ८० हजार रकमसहित हुण्डी कारोबार गर्ने दुई जना पक्राउ बिहीबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नं.६ घर भई बीरगन्ज महानगरपालिका वडा नं. ८ बिपिसी क्याम्पस छेउमा डेरा गरी बस्ने वर्ष २६ को शिव आनन्द गुप्ता र पर्सा बीरगन्ज महानगर वडा नं.११ श्रीपुर बस्ने वर्ष १९ को प्रकाश जैसवाल रहेका छन् ।
अवैध हुण्डी कारोवार भइरहेको छ भन्ने सूचना पाएर जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले जैसवाललाई बिहीबार बिहान ११ बजे २४ लाख अवैध रकम सहित पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए । कालो झोला बोकी हिँडिरहेको जैसवाललाई नियन्त्रणमा लिई निजले बोकेको झोला जाँच गर्दा झोलाभित्र २४ लाख नेपाली रुपैंया बरामद भएको उनले बताए ।
त्यस्तै, गुप्ताको बिपिसी क्याम्पस नजिकैको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइछिपाई राखिएको २९ लाख ८० हजार थप रुपैंया फेला परेको प्रवक्ता खनालले जानकारी दिए ।
त्रिपन्न लाख असी हजार नेपाली रुपैंयासहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा रहेको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता खनालले जानकारी दिए ।