काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका सन्दर्भमा बिहीबार डाकेको पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको परामर्श कार्यक्रममा चीनसँग सुपुर्दगी सन्धी गर्न आवश्यक नभएको भन्ने सुझाव पनि दिइएको छ ।
त्यसैगरी, चीनसँग ऋण लिने भन्दा पनि अनुदानकै लागि पहल गर्नुपर्ने र ऋण लिनुपर्ने भए एसियाली विकास बैंक र विश्व बैंकसँग लिनुपर्ने सुझाव समेत दिइएको छ । बालुवाटार स्रोतका अनुसार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री डा. रामशरण महतले चीनसँग सुपुर्दगी सन्धी गर्न आवश्यक नभएको बताएका थिए ।
एक पूर्व सरकार प्रमुखले बाह्रखरीसँगको कुराकानीमा सुपुर्दगी सन्धीको विषय परामर्शकै क्रममा रहेकोले अहिले हस्ताक्षर नै हुने सम्भावना नरहेको संकेत पाइएको बताए । सो बैठकमा सहभागी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले बाह्रखरीलाई जानकारी गराएअनुसार सुपुर्दगी सन्धीमा अहिले हस्ताक्षर नै हुने गरी काम अघि नबढेको आफूले पाएको बताए ।
‘‘उहाँहरुले सन्धीमा के छ भनेर त भन्नु भएन तर अहिले नै हस्ताक्षर गर्ने सम्भावना देखिएन,’’ रेग्मीले भने । रेग्मीले चीनले दिने ‘भोकेसनल’ तालिमको तल्लो तह सम्म उपयुक्त ढंगले प्रयोग गरिनुपर्ने बैठकमा जनाएका थिए ।
बैठकमा चीनका राष्ट्रपतिको भ्रमणका क्रममा कनेक्टिभिटी, सडक, उर्जा लगायतका विषयमा कुराकानी हुने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका थिए । बैठक स्रोतका अनुसार पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सो अवसरमा चीनको कूटनीतिमा ‘हुन्न’ भन्ने शब्द नै नरहेको उल्लेख गर्दै त्यसका लागि नेपालले ‘पत्याएर’ बढाउनुपर्ने जरुरी रहेको बताएका थिए ।
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीले रेलको बारेमा सकारात्मक हिसाबले कुराकानी हुने सम्भावनाका बारेमा सरकारले जानकारी गराएको जनाए ।