वीरगंज ।प्रतिनिधि सभा विघटनको विरोधमा रहेको कांग्रेससहितको विपक्षी गठबन्धन सोमबार सर्वोच्च अदालत जाने भएको छ ।कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र जनमोर्चाका सांसदहरू हस्ताक्षर र नागरिकतासहित सर्वोच्च अदालत जान लागेका हुन् ।
राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि आह्वान गरेअनुसार गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएको भएपनि राष्ट्रपतिले मान्यता दिएकी थिइनन् । लगत्तै केपी ओली नेतृत्वको सरकारले संसद् विघटनको सिफारिश गरेको थियो भने राष्ट्रपतिले त्यसलाई सदर गरेकी थिइन् ।
प्रधानमन्त्री पदका दाबेदार देउवाको पक्षमा बहुमत रहेकाले देउवालाई नै प्रधानमन्त्री बनाइनुपर्ने दाबीसहित सर्वोच्च जान लागेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।उनका अनुसार आइतबार नै बहुमत सांसदको हस्ताक्षर र नागरिकता जुटिसकेको छ । सोमवार सांसदहरूले हस्ताक्षरका साथसाथै ल्याप्चे पनि लगाइरहेका छन् ।आइतबार नै अदालत जाने भनिए आवश्यक कागजात तयार गर्न ढिलाइ भएकाले आज रिट दायर हुने बताइएको छ ।