वीरगञ्ज | गत जेठ ४ गते बिहान बाराको कलैया उपमहानगरपालिका–७ रंगपुरमा हत्या गरिएका सोही टोलका दुई बालक (दाजुभाइ) को हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।अब्दुल गफार अन्सारीका छोराहरु ९ वर्षका अमान अन्सारी र ७ वर्षका उसमान अन्सारीको हत्या आरोपमा सोही टोलका २५ वर्षका युवक फरमुल्लाह अन्सारीलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
बालककी आमा र पक्राउ परेका युवकबीचको प्रेम सम्बन्धका कारण दुई बालकको हत्या भएको प्रवक्ता मिश्रले बताए। प्रहरी अनुसन्धानबाट युवक र बालककी आमा प्रेम सम्बन्धमा रहेको खुलेको मिश्रले बताए।हत्या गरिएका बालकका बुवा गफार अन्सारी विगत तीन वर्षदेखि वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका छन्। गफार विदेशमा भएकाले घरमा श्रीमती, दुई छोरा र दुई छोरीसहित पाँच जना बस्दै आएका थिए।
टोलकै युवक फरमुल्लाहले बालककी आमालाई सहयोग गर्ने गरेको तथा सोही क्रममा दुबैबीच प्रेम सम्बन्ध भएको प्रहरीको भनाइ छ। युवकले बालकहरुलाई बेलाबेलामा घरमा आएर चक्लेट किनेर दिने र घुमाउने लैजाने गरेको पनि अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।ती युवकको आमासित प्रेम सम्बन्ध भएको कुरा दुबै बालकलाई थाहा भएपछि उनीहरुको हत्या भएको खुलेको प्रहरीको बताएको छ। त्यस्तै पक्राउ परेका अभियुक्तले बालकको आमासित ऋणसमेत लिएका थिए।प्रहरीका अनुसार पक्राउ परेका युवकले बालककी आमालाई छोरीहरुलाई लिएर भारतमा गएर बसौँ भनेका थिए।
तर बालककी आमाले छोराहरुलाई पनि सँगै लैजानु पर्ने बताएकी थिइन्। सोही कुरालाई लिएर पछिल्लो समय बालककी आमा र ती युवक एकअर्कासँग टाढिएका थिए।अभियुक्तले बालककी आमालाई ‘छोराहरुको धेरै माया छ हैन? पख् यिनीहरुलाई देखाइदिन्छु’ भनेर धम्की दिएको प्रहरीको जानकारी दिएको छ।घटना भएको अघिल्लो दिन घरमा गएर अभियुक्तले दुबै बालकहरुलाई चक्लेट किनिदिने भनी सँगै लिएर गएको अनुसन्धानको क्रममा पुष्टि भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।बालकहरुलाई एकान्त निर्माणाधिन अवस्थामा रहेको मदर्साको कोठामा घाँटी रेटेर हत्या गरी उनी फरार भएको मिश्रले बताए। हत्या पश्चात ती युवक कलैयाको भरत चोकमा बिहान ४ बजेर ४१ मिनेटमा सिसिटीभीमा कैद भएका थिए।
गत जेठ ४ गते दुबै बालकको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो। शव फेलापरेपछि तालिम प्राप्त कुकुरसहितको टोलीले घटनाको अनुसन्धान गरेको थियो।घटनास्थलमा पक्राउ परेका अभियुक्त पनि पुगेको तर, तालिम प्राप्त कुकुर आउने थाहा पाएपछि उनी फरार भएका थिए।पक्राउ परेका अभियुक्त फरमुल्लाहविरुद्ध कर्तव्य ज्यान मुद्दाम कारबाही प्रकिया अघि बढाइएको बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए।यो समाचार देश्संचारको लागि राम मण्डल जी ले लेख्नु भएको छ|