काठमाडौ । नेपाल र अष्ट्रेलिया सरकारबीच भएको हवाई सेवा सम्झौतामा त्यहाँका एयरलाइन्सहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले आफूहरुसँग सल्लाह नै नगरी सरकारले हवाई सेवा सम्झौता गरेको गुनासो गरेका छन् । अष्ट्रेलियाका एयरलाइन्सहरुले नेपालमा उडानप्रति पनि चासो देखाएका छैनन् ।असोज १४ गते भएको हवाइ सेवा सम्झौतालाई अष्ट्रेलियाका उपप्रधानमन्त्री मिचेल म्याककोरमाकले महत्वपूर्ण उपलब्धी बताएका थिए । उनले नेपाल अष्ट्रेलियाका लागि धेरै यात्रु भएको देश पनि भनेका थिए ।
उक्त सम्झौताअनुसार अष्ट्रेलियन एयरलाइन्सहरुले एक हप्तामा सात पटकसम्म काठमाडौंमा र देशका सबै विमानस्थलमा गरी हप्तामा २८ पटकसम्म उडान गर्न पाउँछन् ।तर अष्ट्रेलिययन एयरलाइन्सहरुले नेपाल यात्रुको संख्याका आधारमा आकर्षक गन्तब्य नभएको बताएका छन् । अष्ट्रेलियाको तथ्यांक विभागका अनुसार चालु वर्षको सात महिनामा ३१ हजार अष्ट्रेलियन नागरिकले नेपाल भ्रमण गरेका छन् ।
तर यसै अवधिमा १४ लाखले न्युजील्याण्ड, १३ लाखले इन्डानेसिया र १० लाख अष्ट्रेलियनले अमेरिका भ्रमण गरेका छन् । त्यस्तै ४ लाख १६ हजार अष्ट्रेलियनले भारत भ्रमण गरेका छन्, जहाँ अहिलेसम्म अष्ट्रेलियन जहाजको सिधा हवाई सम्पर्क छैन ।क्वान्टास ग्रुपकी प्रवक्ताले क्वान्टास र जेटस्टार नेपालमा हवाइ उडानका लागि इच्छुक नभएको बताएकी छन् । त्यस्तै भर्जिन अष्ट्रेलियाका प्रवक्ताले पनि नेपालमा उडान गर्ने तयारी नभएको बताए ।
संघीय पर्यटनमन्त्री सिमन बर्मिंघमले हवाईसम्झौताले नेपाल र अष्ट्रेलियाको जनस्तरको सम्बन्ध बलियो बनाउने बताए । ‘नेपालमा जन्मिएका ५० हजार जना अष्ट्रेलियामा बसोबास गर्छन् र ५२ हजार नेपाली विद्यार्थी यहाँ अध्ययनरत छन्’ उनले भने ‘मलाई शंका छैन, यो सम्झौताले हामी दुई देशको हवाई यात्रुको संख्या बढाउनेछ ।’द अष्ट्रेलियन डट कमले आफ्नो समाचारमा नेपाल धेरै हवाइ दुर्घटना हुने देशको रुपमा पनि उल्लेख गरेको छ । यहाँ ३० वर्षमा २७ वटा डरलाग्दो हवाइ दुर्घटना भएको उसले जनाएको छ ।