वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको (उपेन्द्र-बाबुराम समूह) केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।जेठ ८ र ९ गतेगरी दुई बसेको बैठकपछि प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा निर्णयहरु सार्वजनिक गरिएको छ।
निर्णय नम्बर ४ मा पार्टीको नीति, सिद्धान्त, विचार एजेण्डा, विधान र कार्यदिशा विपरीत कार्य गर्दै गराउदै हिँडेका नेताहरु महन्थ ठाकर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने उल्लेख छ।
यसैगरी बैठकले प्रतिगमनकारी ओली सरकारमा पार्टीको कनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने पनि प्रष्ट पारेको छ। पार्टी विरोधी गतिविधिमा संलग्न अन्यको बारेमा आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय समेत भएको छ।
बैठकले पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार पार्टीका कार्यकारी अध्यक्ष यादवलाई दिने निर्णय पनि गरेको छ।
प्रधानमन्त्री ओलीको दोस्रोपटक प्रतिनिधिसभा विघठन गर्ने असंवैधानिक तथा गैरजिम्मेवार कदमको विरुद्ध राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने उपेन्द्र समूहको निर्णय छ।
पार्टी कार्यकारिणी समितिले पार्टी संसदीय दलको विधान अनुमोदन नगरेकाले राजेन्द्र महतो दलको नेता चुनिनै नसक्ने निष्कर्ष पनि बैठकले निकालेको छ।
बैठकले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य हुने गरी कुनै (संविधान संशोधन) कार्यदल पार्टीमा नबनेको नबनाइएको स्पष्ट गरेको छ।
जेठ ७ गते मध्यरातमा महन्य ठाकुरले राष्ट्रपतिको कार्यालयमा जनता समाजवादी पार्टीको नामबाट दर्ता गराएको भनिएको पत्र फर्जी भएको हुँदा त्यसको कुनै कानुनी तथा वैधानिक हैसियत नहुने पनि उपेन्द्र समूहले स्पष्ट गरेको छ।
बैठकले अनुशासन पालना नगरी पार्टी हित विपरित पार्टी विरोधी कार्यहरु गर्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबारे प्राप्त सूचनाका आधारमा आवश्यक छानविनगरी यथोचित कारवाही प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ।
बैठकमै लफडा
सुरुमा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबिच सहमति भई लामो समयदेखि बस्न नसकेको कार्यकारिणी समिति बैठक बोलाउने सहमति भएको थियो। तर राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनिएको पत्र संसद सचिवालयमा पुगेपछि जसपा विवाद बढ्यो। उपेन्द्रले पक्षले महतोलाई मान्यता दिएन। विवाद बढ्दै जाँदा महन्थले कार्यकारिणी समिति बैठक स्थगित गरिदिए। उपेन्द्रले स्थगित नभएको कायम रहेको भन्दै विज्ञप्ति निकाले र उनको समूहको मात्रै बैठक बस्यो। बैठक स्थगित भइसकेको र कार्यकारिणीको भनिएको गोप्य बैठक मान्ने नहुने जानकारी आइतवार महन्थले निर्वाचन आयोगलाई गराउँदै गर्दा उपेन्द्र समूहले बैठकका निर्णय सार्वजनिक गरेको छ। नेताहरुले पार्टी फुटको संघारमा पुगेको बताएका छन्।