वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको संक्रमणबाट नागरिकको जीवन रक्षाका लागि प्रक्रिया छोट्याएर भएपनि काम गर्न सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् ।उनले प्रक्रिया छोट्याएर हप्तामा हुने कामलाई दिनमा र दिनमा हुने कामलाई घण्टामा गरेर भएपनि जनताको जीवन रक्षा गर्न निर्देशन दिए । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकलाई आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरहालतमा नागरिकको जीवन रक्षाका लागि काम गर्न निर्देशन दिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘प्रक्रियामा अल्झिएर या आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान नजाओस् । प्रक्रिया छुट्टाएर हप्तामा हुने कामलाई दिनमा र दिनमा गर्नेलाई घण्टामा गरेर भएपनि तत्काल नागरिकको जीवन रक्षाका लागि जे–जे गर्नुपर्छ गर्नुस्,’ ओलीको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने, ‘कानून र प्रक्रिया मिलाउने हो भने त्यो गर्नुस् । र्यापिड रेस्पोन्स टीम बनाउने हो भने त्यो पनि गर्नुस्, तर, हरहालतमा नागरिकको जीवन रक्षा गर्न तद्अनुरूप काम गर्न निर्देशन दिनुभएको छ ।’
मन्त्री ज्ञवालीले स्वास्थ्य संकटकाल लगाउने विषयमा पनि अध्ययन भइरहेको उल्लेख गर्दै फलदायी हुने अवस्थामा मात्र त्यसो गरिने बताए । ‘अहिले हामीलाई तीनवटा समस्या परेको छ । पहिलो देशको समग्र स्वास्थ्य प्रणालीलाई महामारीविरुद्ध लगाउनुपर्नेमा केही स्वास्थ्य संयन्त्र स्वास्थ्य मन्त्रालय मातहतका छन्, केही शिक्षा मन्त्रालय अन्तर्गत स्वायत्त संस्था छन्, केही स्थानीय तहका छन्, युनिफाइड गर्नका लागि कानूनी प्रबन्ध चाहिएको छ,’ ज्ञवालीले भने । सार्वजनिक खरिद ऐनको प्रावधानका कारण खोप ल्याउनका लागि एड्भान्स दिन नसकिएको उनले बताए । मन्त्री ज्ञवालीले गत साता देखिएको अक्सिजनको अभाव अब क्रमशः कम हुँदै जाने बताए ।