वीरगंज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएका छन् ।शुक्रवार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उनले पछिल्लो समय भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका मुलुकमा पनि कोरोना संक्रमण तीव्र बनेपछि समस्या सृजना भएको बताए । उनले यी मुलुकमा पछिल्लो समय संक्रमण बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको बताएका छन् ।
न्यून आय र मध्यम आय भएका मुलुकहरुमा अहिले पनि खोप आपूर्ति सहज नभएको उनको भनाइ छ । अहिलेसम्म न्यून आय भएका मुलुकमा शून्य ३ प्रतिशत मात्रै खोप आपूर्ति भएको उनले बताए ।उनले पछिल्लो समय डब्लूएचओले भारतमा अक्सिजन कन्सनट्रेटर, घुम्ती अस्थायी अस्पताल निर्माणका लागि टेन्टलगायतका स्वास्थ्य सामग्री पठाएको पनि जानकारी दिएका छन् ।कोरोना भाइरसले अहिलेसम्म ३३ लाखभन्दा बढीको मृत्यु भइसकेको बताउँदै उनले पहिलोभन्दा दोस्रो लहर झन घातक रहेको उल्लेख गरेका छन् ।
संक्रमण बढ्दै जाँदा खोप आपूर्ति र व्यवस्थापन अहिलेको मुख्य चुनौतीका रुपमा रहेको पनि उनले बताए । महानिर्देशक गेहब्रेयससले केही धनी मुलुकले खोपको धेरै मात्रा किनेको र न्यून जोखिममा रहेका समूहलाई पनि खोप लगाइरहेको खुलासा गरेका छन्। केही मुलुकले बालबालिका र किशोरकिशोरीलाई खोप लगाइरहेको उल्लेख गर्दै उनले यसलाई पुनर्विचार गरी त्यो खोप विश्वव्यापी खोप परियोजना ‘कोभ्याक्स’ लाई दिन पनि भनेका छन् ।