जनकपुर । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनित गरेको छ । माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहका अनुसार कादरीलाई बिहीबार नै प्रदेशसभामा सभामुख सरोजकुमार यादवले सपथ ग्रहण गराएका छन् ।
पर्सा निवासी कादरी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ हुन् । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील रहे पनि माओवादी केन्द्रका चार प्रदेशसभा सदस्य नेकपा एमालेमा सामेल भएका थिए । उनीहरुलाई माओवादी केन्द्रले कारवाही गरेको थियो ।
कारवाही गरेर रिक्त रहेका सिटमध्ये समानुपातिकतर्फ कादरीलाई मनोनित गरिएको माओवादी केन्द्रका संसदीय दलका नेता साहले जनाए । नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादीले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई कारवाही गरेको थियो । समीर समानुपातिक प्रदेशसभा सदस्य थिए ।