दिल्ली | दिल्ली हाईकोर्टले शनिबार राजधानी दिल्लीको भागमा पर्ने ४९० मेट्रिकटन अक्सिजन उपलव्ध गराउन केन्द्र सरकारको नाममा आदेश जारी गरेको छ। दिल्लीको भागमा पर्ने अक्सिजन पाउनु पर्ने दाबीसहित दायर भएको निवेदनको सुनुवाई गर्दै दिल्ली हाइ कोर्टले यस्तो आदेश जारी गरेको हो ।
न्यायाधीश विपिन साघी र रेखा पल्लिको संयुक्त इजलाशले दिल्लीका अधिकांश अस्पतालमा अक्सिजनको कमि भएको भन्दै यस्तो आदेश जारी गरेको हो। अदालतले भनेको छ, ‘पानी शिरभन्दा माथि पुगिसकेको छ, अब हामीलाई कामसँग मतलब छ । केन्द्रले अहिल्यै सबै व्यवस्था गर्नू ।’
अदालतले चेतावनी दिँदै भनेको छ, ‘जारी गरेको आलेश पालना नभएमा अर्को सुनुवाईमा सम्वन्धित अधिकारी अदालत पेस हुनुहोला। अदालतले दिल्ली कुनै औद्योगिक राज्य नभएकाले उसँग केरायोजेनिक ट्याकर नभएको भनेको छ।
दिल्लीमा २० अप्रिलमा अक्सिजनको कोटा वढाइए पनि हालसम्म कुनै पनि दिन पूर्ण रुपमा सप्लाइ नभएको भन्दै अदालतले केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । यो निवेदनमा अर्को सुनुवाई सोमवार हुने भनिएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका अधिकांश अस्पतालमा अक्सिजनको कमी भएको बताए। दिल्ली सरकारले यसअघि जारी गरेको लकडाउनलाई पनि एक साता थप गरेको छ ।