अमेरिका | पछिल्लो जनगणना अनुसार अमेरिकाको जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ रहेको तथ्यांक विभागले जनाएको छ ।अमेरिकाको तथ्यांक विभागले सोमबार नयाँ जनगणनाको प्रतिवेशन सार्वजनिक गर्दै जनसंख्या बृद्धिदर देशको इतिहासमै दोस्रो कम देखिएको जनाएको हो ।
सन् २०१० को तुलनामा सन् २०२० मा भएको गणना अनुसार १० वर्षको अवधिमा कुल जनसंख्यामा मात्रै ७.३५ प्रतिशत वृद्धि भएको छ ।सन् २०१० को गणनामा अमेरिकाको जनसंख्या ३० करोड ८७ लाख भन्दा धेरै थियो । गम्भीर आर्थिक मन्दीको दशक सन् १९३०–१९४०, पछि अमेरिका अहिलेको दशकमा जनसंख्या बृद्धि कम भएको हो ।
जनसंख्याका आधारमा संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको संख्या निर्धारण हुने र जिल्लाहरुको विभाजन हुने हुँदा अमेरिकी जनजीवन र राजनीतिक परिदृष्यमा जनणनाको प्रत्यक्ष प्रभाव रहन्छ ।
जनसंख्या बृद्धि राम्रो देखिएको टेक्सासमा तल्लो सदनका दुई सिट थपिने भएका छन् । यस्तै कोलोराडो, फ्लोरिडा, मोन्टाना, नर्थ क्यारोलाइना र ओरिगनमा एक–एक सांसद सिट थपिने भएको छ ।सन् २०२२ मा हुने मध्यावधी चुनावअघि जनसंख्या कम भएका क्यालिफोर्निया, इलनोइ, मिशिगन, न्यूयोर्क, ओहायो, पेन्सलभेनिया र वेष्ट भर्जिनियाले भने एक–एक सांसद सिट गुमाउने भएका छन् ।
पछिल्लो जनगणना अनुसार त्यसअघिको दशक (सन् २०००–२०१०) भन्दा जनसंख्या वृद्धिदरमा कमी देखाएको छ । तर अहिलेको वृद्धिदर सन् १९३० को दशक भन्दा केही मात्रै माथि छ ।अमेरिकाको पश्चिम तथा दक्षिणी क्षेत्रका राज्यहरुमा गएको दशकमा जनसंख्या बढेको देखिएको छ । यसले राजनीतिक शक्ति सो क्षेत्रमा बलियो हुने भएको छ ।