नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोरोनाका बिरामीले भर्ना भएका बिरामी डिस्चार्ज भएपछि मात्रै बेड पाउने अवस्था आएको छ।
अस्पतालमा रहेको १ सय ४२ बेड भरिभराउ भएपछि यस्तो अवस्था आएको हो। अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले एक सय ४२ बेड भरिएर राख्न मिल्ने ठाउँहरुमा एस्ट्रा बेड राखेर पनि भरिसकेको जानकारी दिए।
‘अब त कुनै बिरामी डिस्चार्ज नभएसम्म नयाँ बिरामीलाई लिने ठाउँ नै छैन’, मेसु डा. थापाले भने, ‘पालो कुर्ने अवस्था पनि छैन ।’
नेपालगञ्जमा हिजोमात्रै ३ सय ८८ जना संक्रमित थपिएका थिए । दैनिक यत्तिका संख्यामा बिरामी थप भइरहने तर अस्पतालको बेड क्षमता बढाउन चासो नदिने स्थितिले कोरोना भयावह बन्ने खतरा बढेको छ। मेसु डा. थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थिति नियन्त्रण बाहिर । कोभिडको लागि छुट्याएर राखिएका सम्पूर्ण १४२ बेडहरु पूर्णरुपमा भरिभराउ । संक्रमित बिरामीको आउने क्रम जारी छ । हामी मुखदर्शक भएर बस्ने बाहेक केही गर्न सक्ने अवस्था छैन। हरेकले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी देखिन्छ ।’
नेपालगञ्जमा भेरी र मेडिकल कलेजले मात्रै कोरोनाका बिरामीलाई राखेका छन् । अन्य ठूला अस्पतालहरुमा पनि बिरामीलाई राख्न जरुरी भइसकेको छ । भेरीमा मात्रै दैनिक तीन सय वटासम्म अक्सिजन सिलिण्डर खपत हुन थालेको छ । धेरैजसो बिरामीलाई अक्सिजन दिनु परिरहेको छ ।
नेपालगञ्जमा छिटो भन्दा छिटो अक्सिजनसहितको थप कोरोना बेड तयार नगरे ठूलो समस्या निम्तिन सक्ने खतरा बढेको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल भन्छन्, ‘जिम्मेवार कोही बन्न सकेनन् । अक्सिजन लेबल ८६ भएका बिरामीलाई पनि आँखाभरी आँशु लिएर बेड छैन भन्नुपरेको छ ।’
कोरोनाको चेन ब्रेक गर्न नेपालगञ्जमा लकडाउन गरिएको छ। जिल्लामा थपिने, भारतबाट आउने र बाहिरी जिल्लाबाट उपचार गराउन आउने बिरामीको चाप यहाँ बढ्दो छ।