एजेन्सी । चिनियाँ स्वामित्वको एप टिकटक मार्च महिनामा सर्वाधिक डाउनलोड भएको छ । अमेरिकी कारबाहीका बाबजुद मार्च महिनामा टिकटक विश्वभर सबैभन्दा धेरै डाउनलोड भएको एप बनेको हो ।
मार्चमा टिकटक र यसको चिनियाँ संस्करण ‘डौविन’ विश्वभर पाँच करोड ८० लाखपटक डाउनलोड भएको सेन्सर टावरले जनाएको छ । गुगल प्लेस्टोरमा भने फेसबुक र इन्स्टाग्रामपछि टिकटक तेस्रो स्थानमा रहेको छ । मार्चमा भएको कुल डाउनलोडमध्ये १० प्रतिशत डाउनलोड अमेरिकामा नै भएको जनाइएको छ । फेब्रुअरीमा यो संख्या ११ प्रतिशत थियो ।
गत वर्ष मात्र टिकटकले अमेरिकामा आफ्ना प्रयोगकर्ता १० करोड नाघेको जनाएको थियो । विज्ञहरुका अनुसार टिकटकले प्रविधिको सहयोगमा लक्षित उपभोक्ताको मागअनुसारका सामग्री दिएकाले राम्रो प्रदर्शन गर्न सकेको हो ।अमेरिकी कारबाहीले पनि टिकटकको लोकप्रियता बढाउन भूमिका खेलेको समाचारमा जनाइएको छ ।